काठमाडौं, जेठ १६ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले सोमबार शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित पद तथा गोपनीयता सपथ ग्रहण कार्यक्रममा प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराउनुभयो ।
आज सोमबार बिहान राष्ट्रियसभा गृहमा आयोजित पद तथा गोपनीयता सपथ ग्रहण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराउनुभएको हो। साहले नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि नेपाल भाषामा पनि शपथको वाचन गर्नुभएको थियो ।
बालेन साहले शपथ ग्रहण गरिसकेपछि उपमेयर सुनिता डंगोललाई पनि शपथ ग्रहण गराउनुभएको छ, योसँगै साहले क्रमशः काठमाडौं महानगरपालिका वडा नंं १ देखि ३२ सम्मका वडाध्यक्षहरु तथा वडा सदस्यहरुलाई शपथ ग्रहण गराउनु भयो ।
प्रमुख साह र उपप्रमुख डङ्गोलले आजै पदवहाली गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा मुख्य निर्वाचन अधिकृत खतिवडाले जनताले दिएको मतलाई शिरोधार्य गरेर जनताको सेवा गर्न आग्रह गर्नुभयो । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल निर्वाचित हुनुभएको थियो । गत वैशाख ३१ गते बिहानदेखि कामपाको मतगणना सुरु गरिएको थियो ।