
काठमाडौं, जेठ १७। नेप्सेको उच्च गिरावटले साताको दोस्रो कारोबार दिन आज मंगलबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिन ५० अंकले घटेको नेप्से आज मंगलबार पुन ३५ दशमलव ५३ अंकले घटेर २१ सय ३७ दशमलव ९२ अंकमा कायम रहेको छ भने सेन्सिटिभ सात दशमलव ११ अंकले घटेर चार सय १५ दशमलव ६३ अंकमा कायम रहेको छ । नेप्सेमा आज दुई सय २९ वटा कम्पनीहरूको २७ हजार पाँच सय १९ पटकको कारोबारमा ३७ लाख ६९ हजार आठ सय १२ कित्ता किनबेच भएको छ । जसबाट आज कुल कारोबार रकम एक अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँ कायम हुन पुगेको छ ।
नेप्सेमा आज कारोबार भएका १३ वटा समूहहरू मध्ये सामूहिक लगानी कोष समुहको सूचक बढेको देखिएपनि बाँकी रहेका १२ वटा समुह अर्थात वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त र लगानी समुहहरूको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज उपकार लघुवित्त वित्तीय संस्था, नबिल ब्यालेन्स फन्ड २, दिव्येश्वरी हाइड्रो पावर कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंक, लाइफ इन्स्युरेन्स कर्पोरेसन नेपाल लिमिटेड, कर्पोरेट डेभलपमेन्ट बैंक आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने आज एनआईसी एशिया बैंक, नबिल बैंक, अरुण भ्याली हाइड्रो पावर कम्पनी आदि परेका छन् ।