काठमाडौं, जेठ १८। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी छ । छलफल कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता लालबाबु पण्डितले बजेट जनताले लिएको आशा र उत्साह अनुसारको नदेखिएको बताउनुभएको छ ।
'वित्तीयको लगानी विकास खर्च घटाएर जनता सुखी हुन्छन् भन्ने कुरा गलत हो । यो चुनावी ६ महिने बजेटको रुपमा प्रचार र नाराको रुपमा ल्याइएको स्थिति हो ।' उहाँले भन्नुभयो । उहाँले अधुरा रहेका विकासका योजनाहरूमा पर्याप्त बजेट नल्याइएको तर सरकारले काठमाडौंबाट चितवन एक घण्टामा पुग्ने तथा दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने द्रुतमार्ग निर्माण गर्ने घोषणा हाँस्यास्पद रहेको बताउनुभयो ।
उहाँले गाउँगाउँमा इन्डक्सन चुल्होको उपयोग कसरी गर्छन्, किनभने बेलाबेलामा अहिले पनि लोडसेडिङको अवस्था छ । भविष्यको लागि यो ठिक छ तर तत्कालको लागी भने यो लोभ्याउने गुलियो नाराको रुपमा आएको छ, भन्नुभएको छ ।
छलफलकै क्रममा पण्डितले कर्मचारीको तलब बढाइयो तर मजदुरको तलव कहिले बढ्ने भनेर प्रश्न गर्नुभयो ? उहाँले बजेटले हुनेखानेहरु तथा निजी क्षेत्रहरूलाई पोसेको बताउनुभएको छ । उहाँले स्वास्थ्य र शिक्षामा बजेट किन बढाइएन प्रश्न गर्नुभयो । स्वास्थ्य र शिक्षामा सरकारले निजी क्षेत्रलाई मात्र जिम्मा लगाउन खोजेको तथा जिम्मेवारीबाट पन्छिन खोजेको भन्नुभयो।