
काठमाडौं, जेठ १८ । नेप्सेमा पुन: पहिरो गएको छ । अघिल्लो दिन ३५ अंकले घटेको नेप्से आज बुधबार पुन सात दशमलव १९ अंकले घटेर २१ सय ३० दशमलव ७३ अंकमा सीमित हुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि एक दशमलव १६ अंकले घटेर चार सय १४ दशमलव ४७ अंकमा सीमित हुन पुगेको छ । नेप्सेमा आज दुई सय २७ वटा कम्पनीहरुको २३ हजार एक सय ३४ पटकको कारोबारमा ३० लाख २० हजार ६७ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोबार रकम एक अर्ब सात करोड ८४ लाख ८४ हजार एक सय ८२ रुपैंयाँ कायम भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । सो मध्ये आज विकास बैंक, जलविद्युत र फाइनान्स समुहको सूचक बढेका छन् भने वाणिज्य बैंक, निर्जीवन बीमा, जीवन बीमा, लघुवित्त ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, सामूहिक लगानी कोष र लगानी सहितका १० वटा समुहको सूचक घटेका छन् ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज मैलुङ खोला जलविद्युत कम्पनी, बलेफी हाइड्रो पावर कम्पनी, नारायणी डेभलपमेन्ट बैंक, अजोड इन्स्युरेन्स कम्पनी आदिको शेयर मूल्य बढेका छन् भने शिखर इन्स्युरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक, लाइफ इन्स्युरेन्स कम्पनी आदिको शेयर मूल्य घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन डिस्ट्रिलरी प्रालि, शिखर इन्स्युरेन्स कम्पनी आदि परेका छन् ।