काठमाडौं, जेठ १८। शाहवंशीय राजामा अत्यन्त लोकप्रिय राजा वीरेन्द्रको वंशनाश गर्ने गरी मच्चाइएको राजदरबार हत्याकाण्डको आज जेठ १९ गतेबाट २१ वर्ष पूरा भएको छ।
वि.सं.२०५८ साल जेठ १९ गते शुक्रवारको रात्रि राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, नवयुवराज निराजन, अधिराजकुमारी श्रुतिसहितका १० जनाका लागि कठोर काल बनेर निम्तिएको थियो। घटनामा राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्र शाह, राजपरिवारका सदस्यहरु शान्ति, शारदा, जयन्ती र शारदाका पति कुमार खड्गविक्रम शाह पनि मारिनुभएको थियो। नेपालको इतिहासकै कालो दिनका रुपमा अंकित जेठ १९ मा भएको घटनाबारे अझै पनि नेपालीको मन सन्तुष्ट हुने गरी तथ्य स्थापित भएको छैन्। उक्त हत्याकाण्ड आजसम्म रहस्यमा नै छ ।
राजा वीरेन्द्र विभिन्न कारणले जनताका प्रिय हुनुहुन्थ्यो । राजा वीरेन्द्र अत्यन्तै देशभक्त राजा हुनुहुन्थ्यो उहाँ विदेश भ्रमणमा भएको बेला होस् या नेपालमै हुँदा होस् जहिले पनि नेपाल र नेपालीकै चिन्ता गर्नुहुन्थ्यो । राजा वीरेन्द्रको अंगरक्षक टिका धमलाले एउटा लेखमा भन्नुभएको छ, 'वि.सं. २०४७ सालको संविधान आइसकेपछि राजा वीरेन्द्र एकपटक राफ्टिङ्गमा निस्किनुभयो । बेनीघाटबाट राफ्टिङ सुरु भयो । त्यहाँ पुगेपछि पारीपट्टि एउटा छाँगा रहेछ । हामी कसैले त्यो याद गरेको पनि थिएनौ । तर उहाँले मलाई त्यहाँ नुहाउन मन लाग्यो भन्नुभयो । र उहाँसँग म पछि पछि गए । माथिबाट छांगा झरेको ठाउँमा पोखरी बनेको रहेछ । राजाले त्यहाँ नुहाउनु भयो ।' राजाले टिकासँग भन्नुभएछ 'यतिको झरना र पानी शिवपुरीमा भैदिएको भए काठमाडौंमा कति सजिलो हुन्थ्यो है !' यो वीरेन्द्रको प्रक्रृति प्रेम हो ।
राजा वीरेन्द्रले काठमाडौं वरिपरिका एउटा पनि रुख काट्नु हुदैन भन्ने गर्नुहुन्थ्यो। उहाँ भन्नुहुन्थ्यो रुख काटेर ठूल्ठूला घर बनायो भने त्यही सिको अन्त पनि गर्छन् र जङ्गल मासिन्छ । पर्यटकीय गतिविधिले पर्यावरणमा समेत असर पर्छ र वरिपरिका रुखहरु सकिन्छन् भनेर नागार्जुन र शिवपुरी जलधारामा पर्यटकीय क्षेत्र विकास गर्न स्वीकार गर्दै पर्खाल लगाउनुभएको थियो । यो कुराले अनुमान गर्न सकिन्छ उहाँ कति दिर्घकालिन सोच र प्रक्रृतिप्रेमी हुनुहुन्थ्यो भनेर ।
राजा वीरेन्द्र विदेश भ्रमणमा जाँदा पनि नेपाललाई आवश्यक पर्ने भए मात्र जानुहुन्थ्यो । विनाकाम कतै पनि जानुहुँदैनथ्यो । राजा किताव पढ्न एकदमै रुचि राख्नुहुन्थ्यो । उहाँ नेशनल जियोग्राफी सम्बन्धी किताव पढ्न धेरै रुचाउनुहुन्थ्यो । जनावरलाई माया गर्ने तथा जनावरको संरक्षणमा पनि खुब ध्यान दिनुहुन्थ्यो । वीरेन्द्र राजा भएर पनि सामान्य जनताले जस्तै साधारण लगाउने र खाने गर्नुहुन्थ्यो । धेरै जसो उहाँ नेपालमै उत्पादन भएका कपडाहरु लगाउन मनपराउनुहुन्थ्यो । उहाँको एउटा सपना थियो बहिरबाट ल्याउनु भन्दा नेपालमै केहि गर्नुपर्छ भन्ने ।
राजा वीरेन्द्र गाउँगाउँमा भ्रमणमा हुँदा राजालाई जनताहरुले घेर्थे र राजाका अंगरक्षकहरुले धेकेल्थे छेउमा आउन दिन्थेनन् तब राजाले उनीहरुलाई नधेकेल आउन देउ भन्नुहुन्थ्यो । एकपटक रसुवामा एउटा कार्यक्रम भईरहेको बेला मञ्चमा प्रहरीले मानिसहरुलाई धकेलिरहेको राजाले देख्नुभयो । राजाले टिकालाई के भएको रहेछ भनेर हेर्न पठाउनुभएछ । त्यहाँ राजालाई भेट्न पाउने लिस्टमा एकजना भूपू प्रधानपञ्चको नाम परेनछ । त्यसैले प्रधानपञ्च र प्रहरीबीच भनाभन भएछ । टिकाले राजालाई यो कुरा सुनाएपछि तिमी आफै लिएर आउँ म पहिला उसैलाई भेट्छु भन्नुभएछ । कुनैपनि कमजोर मान्छेमाथि यसले केहि बदमास गर्छ कि भनेर शंका गर्नुहुन्थ्यो र निमुखालाई अत्यधिक माया गर्नुहुन्थ्यो ।
राजा वीरेन्द्र दरवारमा हुँदा शनिवार बाहेक आइतबारदेखि शुक्रबारसम्म बिहान १ देखि २ घण्टा हिड्न निस्कनु हुन्थ्यो । राती ६ घण्टामात्र सुत्नुपर्छ भन्ने उहाँको सिद्धान्त थियो । नेपाली जनताले मात्र हैन उहाँलाई घोडाले पनि चिन्दथ्यो । तबेलामा जाँदा घोडा आफै गेटसम्म आउथ्यो ।
२०४५ सालमा भूकम्प गएको बेला गृहमन्त्री निरञ्जन थापा हुनुहुन्थ्यो । उक्त भूकम्पपछि वीरेन्द्रले एउटा नीति बनाएर गृहमन्त्रीलाई निर्देशन दिनुभएको थियो कि काठमाडौंमा घर बनाउँदा गहिरो ठाउँमा नबनाउनु, पोखरीको छेउमा घर नबनाउनु, घर बनाउँदा माटोको परिक्षण गरेर मात्र घर बनाउनु । उहाँले भनेअनुरुप नै २०७२ सालको भूकम्पमा सबैभन्दा धेरै क्षति बालाजु वरिपरि भयो जुन गहिरो ठाउँमा छ ।
राजा वीरेन्द्रआफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने सिद्धान्त राख्नुहुन्थ्यो । राजा विरेन्द्रलाई यो देशको एउटा युगपुरुषको रुपमा लिन सकिन्छ । उहाँले संयुक्त राष्ट्रसंघमा नेपाललाई शान्ति क्षेत्र घोषणा गर्ने प्रस्ताव लैजानुभएको थियो । राज्याभिषेकको बेला नै शपथ लिनुभएको थियो कि नेपाल एउटा शान्ती क्षेत्रको लागि उदारहण बन्नेछ । नेपाली जनताका प्रिय राजा वीरेन्द्र जस्ता दूरदर्शी नेतृत्वदायी व्यक्तित्वहरुको नेपालमा फेरी पनि आगमन हुनु जरुरी छ ।