Kath khabar
कतार ७९ रनले नेपालसँग पराजित

      काठमाडौं, जेठ २० ।  नेपालले आइसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा कतारलाई ७९ रनले पराजित गरेको छ ।  मलेसियाको यूकेएम ओभलमा आज नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो ।

कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४-१४ रन जोडिन ।   कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सृष्टि जैशीले तीन विकेट लिइन् । यस्तै अनु कडायत, कृतिका मरासिनी र स्नेहा महराले २-२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा तीन विकेट गुमाएर ११७ रन बनाएको थियो । नेपालका लागि आश्मा पुलामी मगरले अविजित रहँदै ३२ रन बनाए । यस्तै सृष्टि जैशीले अविजित २३, सानु राजवंशीले २१ तथा अन्जली विश्वकर्माले ११ रन जोडे । किरणकुमारी कुँवरले एक रन मात्र बनाइन् ।

बलिङतर्फ कतारकी साची ढड्वाल र अलिना खानले १-१ विकेट लिए । छनोटमा नेपालसहित, आयोजक मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), थाइल्याण्ड, भुटान र कतार छन् । अब नेपालले दोस्रो खेल युएईविरुद्ध शनिबार खेल्नेछ  । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update