काठमाडौं, जेठ २०। रेशम उत्पादन गर्ने उद्देश्यले गरिने किरापालन कार्यलाई रेशमपालन भनिन्छ । यसलाई रेशम उत्पादन पनि भनिन्छ । रेशमलाई रेशाको रानी’ पनि भनिन्छ । यो अति नै सुन्दर, मुलायम, चम्किलो र बलियो हुन्छ खासगरी किम्बु रेशम पालन प्रबिधि विश्वभर प्रसिद्ध छ । रेशम किरा पालन शुरु गर्नुभन्दा डेढ दुई वर्ष पहिलेदेखि रेशम किराले खाने आहारको रुपमा किम्बु खेती गर्नुपर्दछ ।
प्रकृतिमा धेरै प्रकारका रेशमकिराहरू पाइन्छन् । जसले प्राकृतिक मुलायम रेशा उत्पादन गर्छन् । रेशमबाट उत्पादन हुने धागो तथा कपडा बढी गुणस्तरीय हुन्छ । रेशम खेतीको सुरुवात चिनबाट भएको हो । नेपालमा २०३२ सालमा काभ्रेको खोपासीमा रेशम फार्मको स्थापना पश्चात रेशम खेतीको सुरुवात भएको मानिन्छ । हालसम्मको अध्ययन अनुसन्धानको आधारमा नेपालमा समुन्द्री सतहबाट ५०० देखि २००० मिटरसम्मको उचाइमा रेशम खेती गर्न सकिन्छ ।
रेशम किराको वयस्क पोथी पुतलीले ३०० देखि ५०० अण्डा उत्पादन गर्दछ । सामान्यतया रेशमको अण्डाबाट ७-१४ दिनको अवधिमा लार्भा निस्कन्छन् । रेशम किराको लार्भाका ४ वटा अवस्थाहरू हुन्छन् । लार्भाको प्रत्येक एक अवस्थाबाट अर्को अवस्थामा जाँदा लार्भाले छाला फेर्दछ । जसलाई काँचुली फेरेको पनि भनिन्छ । लार्भा अवस्था किराको खन्चुवा अवस्था हो । सामान्यतया लार्भाबाट धागो निकाल्न शुरु भएको ४८ देखि ७२ घण्टामा पुरै र्याल (धागो) निकालिसक्दा र त्यसपछि बाँकी शरीर अचल अवस्थामा परिणत हुन्छ ।
यसैलाई प्रशोधन गरेर रेशम धागो बनाइन्छ । रेशम किराले अत्यधिक मात्रामा कोकुन (रेशम) निकालेपछि विस्तारै निष्क्रिय हुन्छ। रेशम किरापालन छोटो अवधीमा नै आर्थिक आर्जन गर्न सकिने व्यवसाय हो । अन्य व्यवसाय गर्ने व्यक्तिले पनि सहायक पेशाको रुपमा रेशम किरापालन गर्न सकिन्छ । मौसमअनुसार खाली समयको सिर्जनशील प्रयोग गर्न सकिन्छ ।
रेशम किरापालनको लागि स्थान छनौट गर्दा यातायात सुविधा भएको किम्बु खेतीको लागि उपयुक्त स्थान, बजार सुविधा भएको र रेशम अण्डा तथा किरा सजिलै उपलब्ध हुन सक्ने स्थान हुनुपर्दछ । रेशमबाट बनेको पोशाक जाडो गर्मी दुबै मौसमको लागि उपयोगी मानिन्छ । अहिले यसको व्यवसायिक खेती प्रवर्द्धन गरिएको छ ।