काठमाडौं, जेठ २१ । हिन्दु वर्णाश्रमका आधारमा सानो-ठूलो, तल्लो र उपल्लो भनेर छुट्ट्याइने समूहलाई जात भनिन्छ । हिन्दू वर्ण व्यवस्था अनुसार ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र गरी ४ वर्ण र त्यस अन्तर्गत विभिन्न जात पर्दछन् । यो ४ बाहेक अरु कुनै जाति हुदैन । शास्त्र (धर्म ग्रन्थहरु) अनुसार मानवको कुनै जाति छैन ।
यो सानो-ठुलो, दलित, बाहुन, मगर, नेवार यो सब जात होइन । यो सब शासन गर्ने, हुने खानेहरुले आफ्नो फाइदाको लागि बनाएको मुर्खता पूर्ण व्यवस्था मात्र हो । धर्म शास्त्रहरुमा यस्तो कुरालाई जात कहिँ भनिएको छैन। हिन्दू वर्णव्यवस्था अनुसार तोकिएको पेशागत नाम र तह नै जात हो। शुरुमा चार वर्ण ब्राह्मण, क्षेत्रीय, वैश्य र शूद्र भनेको पेशागत क्षेत्रको मानव समुह र तहगत व्यवस्था थियो।
जातको नाम पनि श्रम वा स्थान विशेषसँग सम्बन्धित हुने गरेका छन् र अहिले पनि प्रचलित जातको नामको चरित्र त्यस्तै कायम नै छ। जस्तै : कर्मीबाट कामी, दमाह बजाउने दमाहीबाट दमाई, कतिपयका भनाइमा हुम्ला सराक भन्ने स्थानबाट फैलिएका सराकीबाट सार्की, वाद्य अर्थात बाजाको काम गर्ने वाद्येयीबाट बादी, रखवारी गर्ने द्यलाः चर्म अर्थात् छालाको काम गर्ने चमार, गाउनेबाट गाइने, द्य (देउता) को मन्दिर सफा गर्ने आदि।
हाम्रो देशमा जातीय भेदभाव र छुवाछूत सामाजिक रुपमा अनैतिक, अमानवीय र कानुनी रुपमा गम्भीर अपराधजन्य कार्य हुने गरेको छ । एक्काईसौं शताब्दीमा पनि आधुनिक समाज, शहर र मान्छेहरुमा जातीय छुवाछूत प्रथाले डेरा जमाएकै छ । आफूलाई सभ्य, शिक्षित, आधुनिक, मानवतावादी र समाजवादी भन्ने व्यक्तिहरुले लेख र भाषणमा जातीय छुवाछूत प्रथाको विरोध गरेपनि व्यवहारमा लागू गर्न सकेका छैनन्। धेरै माथिल्लो तहका व्यक्तिहरुले पनि आफूलाई आधुनिक मानव ठान्छन्, तर जातीय छुवाछूत प्रथाको संघार नाघ्ने हिम्मत कसैको छैन। नेपालमा कथित माथिल्लो तहले तल्लो तहप्रतिको हेपाहा प्रवृत्तिले निरन्तरता नै पाईरहेको छ ।
नेपालमा मुलुकको राजनीतिक परिवर्तनसँगै २०६३ सालको अन्तरिम संविधानबाट प्रारम्भ गरी नेपालको संविधानमा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक र सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरिएको छ । तर पनि जातीय भेदभाव र छुवाछूतकै आधारमा दलित समुदायका व्यक्तिको ज्यानै जाने समेतका गम्भीर घटनाहरू हुनु दुःखदपूर्ण छ ।
गत वर्ष जेठ १० गते अन्तरजातीय प्रेमको कारण जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का नवराज वि.क. सहित ६ जना युवाहरूको चौरजहारी नगरपालिका सोतीमा हत्या भएको हामी सबैमा सर्वविदितै छ । मृत्यु भएको २ वर्ष पुग्दा पनि पीडितहरूले अझै पनि न्याय पाएका छैनन् । त्यसैले उनीहरूको न्यायको लागि सो दिनलाई ‘जात व्यवस्था विरूद्धको विद्रोह दिवस’को रूपमा मनाइएको छ । आखिर जाति र वर्णको विभेद कहिलेसम्म ? जबसम्म यस्तो अपराधहरुलाई कानुनी दायराभित्र ल्याउन सकिँदैन तबसम्म यस्ता घटनाले निरन्तरता नै पाउनेछ ।