काठमाडौं, जेठ २२ । आज सिठी नखः अर्थात् कुमार षष्ठी । सिठी नखः नेवार समुदायको महत्वपूर्ण चाड हो, जुन हरेक वर्ष जेष्ठ शुक्ल पक्षको दिन मनाइन्छ । हिन्दू पौराणिक कथा अनुसार यो दिन भगवान शिव र देवी पार्वतीका प्रथम पुत्र भगवान कुमार कार्तिकेयलाई समर्पित गरिएको छ। यस दिनको अर्को नाम कुमार षष्ठी हो। कुमारको सम्मानमा यो पर्व मनाइन्छ । त्यसैले यो दिनलाई कुमार षष्ठी पनि भनिन्छ ।
यस दिन नेवार समुदायमा कुमारको पुजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान बारा/वो र चटामारी (चामलको पिठोबाट बनेको नेवारी परिकार) खाने गरिन्छ। नेवार समुदायले यस दिन पोखरी, इनार र ढुङ्गाको टुक्रा जस्ता पानीका स्रोतहरू सफा गरेर मनसुन सुरु भएको दिन भनेर पनि सिठी नखः पर्व मनाउने गर्दछन्। मानिसहरूले आफ्नो पुर्खाको देवतालाई श्रद्धाञ्जलिको रूपमा बारा र चटामारी जस्ता परम्परागत खाने कुराहरु तयार पार्छन् । यी खानेकुरा स्वादका लागि मात्रै होइन, यसमा कार्बोहाइड्रेट, प्रोटिन, आइरन इत्यादिको मात्रा बढी हुन्छ। मनसुन नजिकिँदै गर्दा शरीरमा विभिन्न किसिमका ब्याक्टेरिया आउने र यस्ता खानेकुराले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर बिश्वास गरिन्छ। यस पर्वले रोपाइँ सुरु भएको सन्देश दिने भएकाले बिशेष गरेर ज्यापू समुदायमा यस पर्वको अझ वढि महत्व हुने गर्दछ ।
यस सिठी नखः पर्वले पानीको स्रोत संरक्षणको महत्व र स्वच्छ पानीको आवश्यकतालाई पनि उजागर गर्दछ। आज कुवा, पोखरी वरपर पूजा गर्ने र पूजा गर्नुअघि सरसफाई गर्ने चलन छ । यसरी सबैजना जम्मा भएर पूजापाठ गरिसकेपछि वर्षभरी त्यहाँ फोहोर नफाल्न धार्मिक र सांस्कृतिक रूपमा बाध्य हुने दूरगामी अनुष्ठान सराहनीय छ । सिठी नखःको दिन सरसफाई गरेपछि पानीको सतह स्थिर बनाउन केही दिन पानीको मुहान बन्द गर्नुपर्ने जनविश्वास छ । पानी सफा गर्दा खनेको इनार, पोखरी, बोरहोल भित्र पसेर सफा गरिन्छ र यसो गर्दा मुनिको फोहोर जस्तै माटो, र फोहोर पानीको सतहमा आउँछ।
सिठी नखःको दिन, नेवार समुदायले देवाली पूजा पूरा गर्नुपर्छ जसमा पारिवारिक देवता दिगु देयको पूजा गरिन्छ। नव विवाहित बुहारीलाई घरपरिवारमा स्वागत हुने भएकाले देवाली पूजाको विशेष महत्व छ । आजको दिन शुद्ध भई नवदुर्गा भवानी र शिक्तिपिठहरुको पूजा गरी नयाँ गहुँबाट तयार गरिएको म्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा वृद्धि हुनुका साथै यस बर्षको वर्षा फाप्ने तथा घरपरिवारमा सुख, शान्ति हुने जनविश्वाससमेत रहेको पाइन्छ ।