काठमाडौं, जेठ २२ । सामान्यतया वातावरण भनेको हाम्रो वरिपरि भएको वायुको आवरणलाई बुझ्न सकिन्छ। प्रकृतिमा निःशुल्क पाइने मूल्यवान कुराहरू हावा, पानी आदि वातावरणभित्र पर्दछन्। किरा फट्याङ्ग्रा र बोटबिरुवा मात्र नभई सम्पूर्ण मानव जीवन नै वातावरणमा निर्भर छन्। हरेक वर्ष जुन ६ तारिखको दिन विश्व वातावरण दिवस मनाइन्छ। विश्व पर्यावरणप्रति वैश्विक स्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो । बढ्दो प्राकृतिक स्रोत साधनको दोहन र जीवाश्म इन्धनको अधिक खपतले गर्दा विश्वव्यापी तापमानमा वृद्धि भई अनेक प्राकृतिक विपद् र अनेक रोगव्याधिका घटना बढ्न थालेपछि केही वर्षयता विश्वव्यापीरुपमा यसको रोकथामका विभिन्न प्रयासहरू भएपनि अझै ठोस पहल भने हुन सकेको छैन ।
जैविक विविधता हाम्रो राष्ट्रिय सम्पत्ति र विश्वमा नेपालको पहिचान गराउने धरोहर पनि भएकाले यसको संरक्षण र संवर्द्धन गरी वातावरणमैत्री विकास अभियानले सुरक्षित एवं समृद्ध भविष्यको निर्माण हुन सक्दछ । यतिबेला हाम्रा यी सम्पदाहरू खतराको उच्च जोखिममा परेका छन् । प्राकृतिक सम्पदाको दोहन नै जैविक विविधतामा आएको ह्रासको मुख्य कारण हो । मानिस नै वातावरण प्रदुषणको मुख्य कारक तत्व हो । हाम्रो दैनिकी अनि हाम्रा आनीबानी व्यवहार यतिबेला प्रकृतिको विनाशको कारण बनेको छ । दिन प्रतिदिन बढ्दै गरेको वन विनाश, बढ्दो शहरीकरण अनि जनसंख्या चापका कारण हामीले प्राकृतिक विपत्तिको सामना गर्नुपरिरहेको छ । वातावरण प्रदुषण र यसको समयमा रोकथाम गर्न सकिएन भने हामीले हाम्रो जीवनलाई स्वस्थ अनि दिगो बनाउन सक्दैनौ । तसर्थ अब ढिलो नगरी वातावरण संरक्षणको लागि प्रभावकारी ढंगले नीतिनिर्माण गरी कार्यान्वयन गर्न आवश्यक छ । भोलिका दिनमा हामीले सहनुपर्ने वातावरणीय चुनौती र प्राकृतिक विपत्तिबारे अब पनि नसोचे कहिले सोच्ने ?
प्रकृति र वातावरण रहेमात्र हामी रहन्छौँ। तसर्थ हामीले जीवन र प्रकृतिबीचको अन्तरसम्बन्ध बुझ्दै प्रकृति र वातावरणलाई माया गर्न सिकौं, वृक्षारोपण अनि जलस्रोतको संरक्षण गर्न सिकौं र काठ र दाउरालाई मात्रै हैन, रूख र वनलाई पनि माया गर्न सिकौं।