काठमाडौं, जेठ २३ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । उक्त कार्यालयका अनुसार बारा पचरौता नगरपालिका–७ घर भई काठमाडौंको कालीमाटी बस्दै आएका ५४ वर्षीय जयकमल साह कलवारलाई पक्राउ गरिएको हो ।
काठमाडौंको टंकेश्वर कालीमाटी एरियामा गैरकानुनी रूपमा हुण्डी कारोबार भइरहेको भन्ने गोप्य सुचना कार्यालयमा आएको थियो । सोही सुचनाको आधारमा अनुसन्धान गर्दे जाँदा कलवारलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका कलवारको साथबाट नेपाली रुपैंयाँ १७ लाख ६६ हजार तीन सय र भारतीय रुपैंयाँ १२ लाख आठ हजार सात सय भारतीय रुपैयाँ समेत कुल ३७ लाख दुई सय २० सहित पक्राउ गरिएको हो ।
पक्राउ परेका कलवारलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाएको उक्त कार्यालयले जानकारी दिएको छ ।