काठमाडौं, जेठ २४ । बञ्चरे डाँडामा स्थानीयद्वारा फोहर संकलन शुरु भएपनि विसर्जनमा स्थानीयवासीले फेरि अवरोध गरेका छन् । काठमाण्डौबाट फोहर बोकेर गएका गाडीलाई बञ्चरेडाँडाका स्थानीय बासिन्दाहरुले प्रवेशमा रोक लगाएका हुन् ।
संघर्षसमितिका प्रतिनिधिलाई नराखी नगरपालिकाका जनप्रतिनिधिहरुसँग मात्रै बसेर सम्झौता गरेको भन्दै बञ्चरेडाँडाका स्थानीयवासीहरुले फोहोर फाल्न नदिएका हुन् । काठमाण्डौ महानगर, सहरी विकास मन्त्रालय, नुवाकोटको ककनी गाउँपालिका, धादिङको धुनीबेसी नगरपालिकाका जनप्रतिनिधिबीच हिजो फोहर व्यवस्थापन गर्ने सहमति भएपछि आज बिहानै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन सुरु भएको थियो ।
स्थानीयवासीको अवरोधपछि बिहानैदेखि फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीहरु बीच बाटोमै रोकिएका छन् । फोहोर व्यवस्थापनमा अवरोध पुर्याउने संघर्ष समितिका संयोजक श्रीराम ढुङ्गानासहित ५ जना पक्राउ परेका छन् । स्थानीयहरुले हाम्रो माग पुरा नभएसम्म फोहोर फाल्न दिदैनौं भनेर आक्रोशित बनेका छन् ।