Kath khabar
नाडाले सरकारसँग भन्यो- विद्युतीय मोटरसाइकलको अन्तःशुल्क तथा भन्सार महशुलमा पुर्नबिचार हुनुपर्छ



             काठमाडौं, जेठ २४। विद्युतीय सवारी साधनहरूमा लगाइएको उच्च कर पुनर्विचार गर्न नेपाल अटोमोबाईल डिर्लस एशोसिएसन (नाडा) सरकार समक्ष आग्रह गरेको छ । नाडाले विद्युतीय सवारी साधनहरूमा उच्च महशुल बृद्धि गरेको सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दे यस्तो आग्रह गरेको हो ।  विद्युतीय सवारी साधनहरूमा लगाइएको उच्च करका कारण आफूहरूको व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएकोले त्यसमा पूर्वविचार गर्न सरकारसँग आग्रह गरेको नाडाले जानकारी दिएको छ ।

आगामी आर्थिक वर्षको बजेटमा सरकारले दुई सय सिसिभन्दा माथिका मोटरसाइकलमा अन्तःशुल्क तथा भन्सार महशुलमा अत्यधिक वृद्धि गरेबाट त्यस किसिमका मोटरसाइकलको बिक्री वितरण गर्दे आएका अटोमोबाइल व्यवसायीहरूले अब आफ्नो व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था उत्पन्न भएकोले यसतर्फ समेत पूर्नविचारका लागि सरकारसँग अनुरोध गरेको छ ।

दुई सय सि.सि सम्मका मोटरसाइकललाई सर्वसाधारण जनताले प्रयोग गर्ने सवारी साधनको रुपमा लिएको देखिए पनि उच्च करका कारण त्यो सम्भव नहुने नाडाले मंगलबार विज्ञप्ति जारी गर्दै उक्त कुरा भनेको छ । ‘अर्थ मन्त्री जर्नादन शर्माद्धारा प्रस्तुत बजेटले नेपालमा उत्पादित जलविद्युतलाई पेट्रोलियम पदार्थको विकल्पको रुपमा प्रयोगगरी छिमेकी मुलुकसँगको व्यापार घाटालाई कम गर्ने, नेपालको आफ्नै उत्पादन जलविद्युतलाई विद्युतिय सवारी साधनहरू लगायतका विभिन्न वस्तुहरूमा प्रयोगगरी विदेशी मुद्राको बचत गर्ने माध्यमको रुपमा लिएको स्पष्ट देखिए पनि अर्कोतर्फ सोही बजेटमा १०० किलोवाट भन्दा बढी क्षमताका विद्युतीय सवारी साधनहरूमा भन्सार तथा अन्तःशुल्क महशुलमा अत्यधिक वृद्धि गरिएको छ ।

यसले विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित गरिएको बुझिन्छ । यस सन्दर्भमा नेपालको भौगोलिक अवस्था अनुसार २०० किलोवाट क्षमताका विद्युतीय सवारी साधनहरूलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार तथा अन्तःशुल्क महशुल कायम गरि दिने व्यवस्थाका लागि सरकारसँग अनुरोध गर्दछौ,’ नाडाले विज्ञप्ति मार्फत भनेको छ ।

केही समय अघि मात्रै नेपाल सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन निजी प्रयोजनका सवारी साधनहरूको आषाढ मसान्तसम्मका लागि आयातमा रोक लगाएको छ। उक्त निजी प्रयोजनका सवारी साधनहरूको आयातले विदेशी मुद्रा सञ्चिति र शोधनान्तर स्थितिमा खासै असर पार्ने नदेखिएकोले आयात प्रतिबन्धको सहज समाधानका लागि समेत नाडाले आग्रह गरेको छ ।


 

प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update