Kath khabar
राराको सौन्दर्य पछाडि लुकेको त्यो पीडा

                          काठमाडौं, जेठ २५ । २०२० फागुन २० गते मंगलवार राजा महेन्द्र रारा ताल पुग्नु भएको थियो। त्यतिबेला रारा पुग्ने उहाँ नै पहिलो बाहिरी व्यक्ति हुनुहुन्थ्यो । केवल त्यहिँका वरपरकाले मात्रै देखेको रारा यति सुन्दर छ भन्ने कुरा बाहिरकाहरु कमैलाई मात्र थाहा थियो । रारा देखेर राजा महेन्द्र यति मन्त्रमुग्ध भए कि त्यही तालको किनारमा रहेको धुपीको चौतारामा बसेर एउटा कविता कोरिहाले:
सुन्दरताको भण्डार सारा,
के खनाया यसै रारामा
राराकी अप्सरा

राजालाई राराको दृश्यले यति भावुक बनायो, उनले कविता मात्रै लेखेनन् रारा क्षेत्रलाई यसरी नै सुन्दर बनिरहन दिनुपर्छ भन्ने सोचमा लागेर सरकारलाई राराको संरक्षण गर्न निर्देशन पनि दिए । त्यो बेला पञ्चायतकाल थियो, अनि राजा महेन्द्रको शासन । राजाले बोल्दिएपछि त्यसलाई पूर्ण गर्न पञ्चहरुको दौडधुप शुरु हुन्थ्यो । अन्ततः रारालाई बस्तीरहित बनाउनु पर्ने निधो गरेर त्यहाँका दुई गाउँका १५०० घरधुरीलाई उठाएर तराईतिर सारिने निर्णय भयो ।

त्यस क्षेत्रमा राजा पुग्नु केहीको लागी खुशीको कुरा थियो तर केहीको लागी भने राजाको यो आगमन अभिशाप भएर आयो । राजाको त्यो भ्रमण सम्झनै मन नलाग्ने कथा भएर आयो । ताल नजिकै तीन बस्तीहरु मुर्मा, रारा र छाप्रु थिए । यि बस्तीमा रारा र छाप्रुमा मात्र करिव २३२ घरधुरी थिए । २३२ घरधुरीमा करिव १५०० को संख्यामा बसोबास थियो । अब बस्ती कसरी हटाउने भन्ने विषयमा निकै छलफल भयो । सैपाल हिमालको काखमा रहेको पहाडी भूभागमा कोणधारी जंगलले भरिएको यो रमणीय ठाँउमा विभिन्न चराचुरुङ्गीको जलक्रिडास्थल पनि भएको हुँदा राष्ट्रिय निकुञ्ज बनाउनु पर्ने निर्णय भयो । यसैबीच राजा महेन्द्रको स्वर्गारोहणले यो योजना केही वर्षलाई रोकियो ।

२०३२ सालमा रारा राष्ट्रिय निकुञ्जको गठन गरियो । करिव १०६ वर्ग किमि ओगटेको यस क्षेत्रमा तालको भूभाग मात्र करिव ११ वर्ग किमी छ । साथमा तालको उत्तर पश्चिममा रहेको छाप्रु बस्ती, दक्षिण पश्चिममा रहेको मुर्मा बस्ती तथा दक्षिण पूर्वमा रहेको रारा बस्ती पनि समेटिएको थियो । अन्तत २०३५ सालमा छाप्रु तथा राराको बस्तीलाई अन्यत्र सार्ने निधो भयो । ति जनताहरूको लागी बाँके बर्दियाकोबीच जंगलको भूभाग छुट्याइयो । उच्च पहाडी भूभागमा बसोबास गर्नेहरुको लागी तराइको उखरमाउलो गर्मीको बस्ती रोजियो । त्यो बेला पञ्चायतकालको उर्दीमा अस्वीकार गर्ने वा बिरोध गर्न सक्ने कसैको आँट नै हुँदैनथ्यो । केहीले त्यति टाढा तराइमा जानु भन्दा नजिकै कतै ठाँउ दिए हुन्थ्यो भन्ने बिचारसम्म गरे । तर कसैको सुनिएन ।

करिव ४५ वर्ष अगाडिको त्यो दिन गाँउलेको लागि पीडादायक दिन भयो । सरकारी कर्मचारी घर घरका ढोका ढकढकाउदै सरकारी निर्णय सुनाउने आएँ, 'बस्ती तुरुन्तै खालि गरि सरकारले दिएको तराइमा गएर बस्नु' यो अनुरोध थिएन, आदेश थियो । अति मन बिझाउने आदेश, मुटुभित्रसम्म बिझ्ने आदेश । सयौ वर्ष देखी बाजेबराजुदेखि बसिआएको थातथलो सधैको लागि छोडेर जाने आदेशले मन कटक्क भए पनि छोड्न तैयार भए त्यहाका गाउलेहरु। बस्तुभाउ नजिकैको बस्तीमा गएर जतिमा भेटे उतिमै बेचविखन गरे । जे सकिन्छ बोकेर भारी कसे र जान तैयार भए ।

यो बस्तीको कथा यति नयाँ होइन र धेरै पुरानो पनि होइन । पृथ्वीनारायण शाहको एकिकरण अभियानपछि राजा रणबहादुर शाहको शासनकालमा बहादुर शाहले राज्य बिस्तारको क्रममा पश्चिम आक्रमण गर्न थाले । यहि क्रममा काजी शिवनारायण खत्री र सरदार प्रबल रानाको नेतृत्वमा बि।सं १८४६ को असोज १५ गते जुम्ला आक्रमण भएको थियो । बालक राजा चक्रसुदर्शन शाही भए पनि राज्यको रियासत उनका काका शोभन शाहीले गर्ने गरेका थिए । आक्रमण पछि बालक राजाको साथ काका शोभन शाही उत्तर हुम्लातर्फ भागे त्यहाबाट तिब्बतमा शरण लिन पुगे । राजाले तिब्बतमा शरण लिन पुगे तर नातेदार तथा राज्यका केही जनताहरु जो गोर्खा राज्यको दमनबाट मुक्त हुन उत्तरतर्फ लागेका थिए । तिनै जुम्लेलीहरु नै राराको वरपर मुर्मा, रारा र छाप्रुमा बसेका थिए । यहाँ रहेका शाहीहरु राजाका नातेदारहरु थिए भने अन्य जुम्ला राज्यका जनताहरु थिए । यसरी झण्डै २०० वर्ष देखि बस्ती बसाएर बसेका त्यहाँका जनता एउटै आदेशले बेघर हुन पुगे ।

नयाँ ठाँउमा निकै आश्वासन दिइएको थियो । प्रति परिवार ३४ कट्ठा जमिन तथा बस्नलाई घर पनि बनाइदिने आश्वासन दिइएको थियो। आफ्ना जायजेथा माया मारेर घरको मूलढोकामा बलियो ताला लगाए । यिनीहरुको सोचाइमा सरकारले एकदिन फेरी यहि ठाँउ फर्कन दिनेछन् भन्ने मनमा आशा लिएर निस्केका थिए । करिव १५ दिन हिडेर सो नयाँ ठाँउमा पुग्दा बस्ने घरको कुरा त टाढै थियो व्यवस्थित बसोबासको लागि पनि कुनै प्रबन्ध मिलाइएको थिएन । सबैभन्दा समस्या त त्यहि नजिकै बस्ने पुरानो बस्तीका मानिसहरुबाट झेल्न पुगेका थिए । आफ्नो सम्पूर्ण सम्पति त्यागेर सुकुम्वासी झै नयाँ वस्तीमा आएकाको समस्यालाई बुझेर सरकारले त्यहाँ पहिलेदेखि बसेका ३८ घरधुरीलाई अन्यत्र व्यवस्थापन गराइएपछि बल्ल यि रारावासीलाई केही सन्तोष भयो ।

४० वर्ष बित्न लाग्दा रारा वरपर नयाँ बस्तीको शुरुवात भएको र होटलहरु खोल्न दिएको तर आफूहरुलाई फर्कन नदिँदा यिनीहरुको मनमा पक्कै पनि अति दुख लागेको हुनुपर्छ । अहिले रारा ताल घुम्न पुग्नेहरु राराको सौन्दर्यले मन्त्रमुग्ध त हुन्छन् । तर यिनीहरुको पीडाको अनूभूति कसैले पनि गर्न खोज्दैनन् । त्यहाँ अझै पनि पुराना मन्दिरहरु तथा ढुङ्गेधाराहरु संरक्षणको पर्खाइमा छ । मुटूमाथि ढुङ्गा राखेर बस्ती छोडेर गएकाहरुको पुस्ता बिस्तारै सकिदै जाँदा पीडा पोख्नेहरु हराउदै गए । नयाँ पुस्ता नयाँ ठाँउमा रमाइसकेका छन् ।

तस्विरमा त्यहि ताल किनार नजिकै रहेको रारा गाँउको बस्तीमा बस्ने केही बालकहरु घर अगाडी रमाइरहेको देख्न सकिन्छ । केही बच्चा तेर्साइएको काठको मुढामा ढिकीच्याउँ खेल्दै गरेको देख्न सकिन्छ । यो तस्विर त्यो बस्तीको शायद अन्तिम तस्विरहरु मध्येका हुन् । यसको केही समय पछि नै यहाँको बस्ती सबै हटाइएको थियो ।

तस्विरमा त्यहि ताल किनार नजिकै रहेको रारा गाँउको बस्तीमा बस्ने केही बालकहरु घर अगाडी रमाइरहेको देख्न सकिन्छ । केही बच्चा तेर्साइएको काठको मुढामा ढिकीच्याउँ खेल्दै गरेको देख्न सकिन्छ । यो तस्विर त्यो बस्तीको शायद अन्तिम तस्विरहरु मध्येको हो । यसको केही समय पछि नै यहाँको बस्ती सबै हटाइएको थियो । Source : Sunil Ulak

 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  ११:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update