Kath khabar
कीर्तिपुरमा उत्साह : स्थानीय निकाय र उद्योगपति व्यापारीबीच महत्वपूर्ण समझदारी


           काठमाडौं, जेठ २५ । कीर्तिपुरमा उद्योग व्यवसाय विस्तारमा सहकार्य गरेर अगाडि बढ्ने महत्वपूर्ण समझदारी भएको छ । कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार उद्योगपति, व्यापारी र नवनिर्वाचित स्थानीय निकायका पदाधिकारीहरू बिच भएको शुभकामना तथा साक्षात्कार कार्यक्रममा यस्तो समझदारी भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं उद्योगपति शेखर गोल्छाले स्थानीय निकायसँग सहकार्य गरेर कीर्तिपुरमा उद्योग स्थापना गर्न आफूहरू तयार रहेको बताउनु भएको थियो । लगानीमैत्री वातावरण र्निर्माणमा राज्यका  अंगहरुको महत्वपूर्ण भूमिका रहने बताउँदै अध्यक्ष गोल्छाले त्यसकालाई स्थानीय  सरकार लगानी भित्राउन सक्रिय बन्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति रामचन्द्र सांघाईले स्थानीय निकायले करको दर बढाउने होइन दायरा बढाएर कर तिर्न कर होइन रहर लाग्ने वातावरण र्निमाण गर्नुपर्नेमा दिनुभएको थियो। उपाध्यक्ष सांघाईले कीर्तिपुरमा उद्योग व्यवसाय स्थापना र विकासमा आफू इच्छुक रहेको समेत बताउनुभएको थियो ।

उद्योगी व्यापारीहरूको कुरा सुनेपछि कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीले उत्साहित हुँदै, उद्योगपतिहरूसँग सहकार्य गरेर आगामी बढ्न तयार रहेको बताउनुभएको थियो । कीर्तिपुरमा औद्योगिक ग्राम स्थापना, स्थानीय उत्पादन, सीपमा आधारित उद्योगहरूलाई प्राथमिकतामा राखेर काम गर्न तयार रहेको बताउँदै, उद्योगीहरू सँग हातेमालो गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै कीर्तिपुर उद्योग वाणिज्य संघकी अध्यक्ष राज्य लक्ष्मी शाक्यले कीर्तिपुरको उत्थान र विकासका लागी स्थानीय निकाय र राष्ट्रिय  स्तरका उद्योगी व्यापारीहरूबीच समन्वयकारी भूमिका खेल्दै समृद्ध कीर्तिपुर निमार्णका लागी आफू हरदम तयार रहेको बताउनुभएको थियो ।

कार्यक्रममा अर्थविद् नुर सागर श्रेष्ठले, कीर्तिपुरको मौलिक काष्ठकला र सीपको संरक्षण गर्दै, स्थानीय संस्कृतिमा आधारित उद्योग व्यवसायलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका नगर जिल्ला उपाध्यक्ष, दिनेश श्रेष्ठ, केन्द्रिय सदस्य हेमराज ढकाल, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, कीर्तिपुर महिला संञ्जालकी अध्यक्ष हसना मर्हजन, कीर्तिपुर नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्य लगायतले उद्योग व्यवसाय एवं उद्यमशीलता विकासका लागी स्थानीय सरकार र उद्योगी व्यवसायी  बिचको सहकार्यमा जोड दिनुभएको थियो ।

कार्यक्रममा कीर्तिपुर उद्योगवाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ बाग्मती प्रदेशका पदाधिकारीहरू,  विभिन्न महिला उद्यमी समूहहरू, स्थानिय निकायका जनप्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


 

प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १४:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update