काठमाडौं, जेठ २७। आज निर्जला एकादशी अर्थात तुलसीको दल (बिउँ) राख्ने दिन। निर्जला एकादशीका दिन राखेको दलको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन तुलसीका दानाहरूलाई आँगनमा रहेको तुलसीको मठमा छर्ने गरिन्छ । यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने गरिन्छ। यो अवधिलाई चतुर्मास भनिन्छ। हिन्दु धर्ममा महत्त्वपूर्ण स्थान राख्ने यस एकादशीको व्रतमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने भएकोले यसलाई निर्जला एकादशी भनिन्छ । वर्षका २४ एकादशीहरू मध्ये यो एकादशीलाई बढी फलदायी वा महत्वपूर्ण मानिन्छ । यस दिन भगवान विष्णुको आराधनाको विशेष महत्त्व छ ।
एकपटक पाण्डुपुत्र भिमसेनले आफ्ना पिता श्री वेदव्यासजीसँग प्रश्न गरे, हे पितामह ! माता कुन्ती, द्रौपदी, युधिष्ठिर, अर्जुन, नकुल एवं सहदेव सबैजना एकादशीको व्रत गर्दछन् । मेरा दाजु युधिष्ठिर महाराजले मलाई पनि एकादशी व्रत गर्न आज्ञा भएको छ । तर म भोक सहन सक्दिन, म सम्पूर्ण नियम अनुसार भगवान केशवको उपासना, पूजा तथा क्षमता अनुसार दान धर्म गर्ने लगायतका सम्पूर्ण कर्तव्यहरू गर्न सक्छु । वर्षमा आउने २४ वटा एकादशीको व्रत पालना गर्न मेरो लागि सम्भव छैन । म क्षणभरका लागि पनि म भोकै बस्न सक्दिनँ । यदि गर्नैपरेमा म वर्षमा एकदिन उपवास गर्नेछु त्यसैले मलाई यस्तो व्रतको बारेमा बताउनुस् जसको पालना गर्दा मेरो जीवन मङ्गलमय बन्न सकोस् । महर्षि वेदव्यासजी जान्दथे कि भीमको पेटमा बृक नामक अग्नि छ यसैले अधिक मात्रामा भोजन गर्दा पनि उनको भोक शान्त हुँदैन ।
त्यसपछि भिमसेनलाई श्री वेदव्यासजीले भन्नुभयो, 'हे भीम ! यदि तिमी वैकुण्ठ जान चाहन्छौ भने तिमीले प्रत्येक महिनामा आउने २ वटा एकादशीको पालना गर्नुपर्दछ । उहाँले अगाडि भन्नुभयो, तिमी ज्येष्ठ मासको शुक्ल पक्षको निर्जला नामको एक मात्र एकादशीको व्रत गर, तिमीलाई वर्षका समस्त एकादशीहरूको फल प्राप्त हुनेछ । निःसन्देह तिमी यस लोकमा सुख, यश र प्राप्त गरी मोक्ष लाभ गर्नेछौ । त्यसदिन जल पनि पिउनुहुँदैन । त्यसदिन आचमन गर्दा एउटा रायोको दाना जति मात्र जल प्रयोग गर्नुपर्दछ । त्यो भन्दा बढि जल पिउनाले महापाप गरेको फल प्राप्त हुन्छ । यो एकादशीको दिन कुनै पनि भोजन गर्नु वर्जित छ । भोजन गर्नाले व्रत भंग हुन्छ । एकादशी तिथिको सुर्योदयदेखि द्धादशी तिथिको सूर्याेदयसम्म पानी पनि वर्जित हुन्छ । यसरी यो निर्जला एकादशीको व्रत पालना गर्नाले सम्पूर्ण एकादशी व्रत पालना गरेको फल प्राप्त हुन्छ । द्धादशी तिथिको दिन ब्राम्हणहरुलाई जल तथा सुवर्ण दान गर्दै व्रतालुहरुले ब्राम्हणहरुका साथ भोजन लिनुपर्दछ ।' भगवान विष्णुलाई निर्जला एकादशीको पालना गर्ने व्यक्ति अत्यन्त प्रिय हुने र सम्पूर्ण पापकर्मबाट मुक्त हुने कुरा पनि महर्षिले बताउनुभयो ।
त्यसदिनदेखि भिमले पनि निर्जला एकदशीको व्रत लिन थाले तर भोलिपल्ट बिहान भीम भोक र प्यासका कारण अर्धचेतना अवस्थमा भेटिन्छन् । त्यसपछि भीमलाई गंगाको पवित्र पानी र तुलसीको पात पिलाउँदै उठाइन्छ । तसर्थ यस एकादशीलाई भिमसेनी एकादशी अथवा पाण्डव निर्जला एकादशी पनि भनिन्छ । यस दिन ॐ नमो भगवते वासुदेवायः मन्त्रको जप गरेर गोदान, वस्त्र दान, छत्र, फल आदिको दान गर्नुपर्छ । यस दिनको व्रतले सम्पूर्ण पापमोचन हुने र सोझै बैकुण्ठ प्राप्त हुने भनिन्छ ।