काठमाडौं, जेठ २७ । नेपाल राष्ट्र बैंकले आज शुक्रबार चालु आर्थिक वर्षको १० महिनाको मुलुकको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार कुल वस्तु निर्यात ५९ दशमलव आठ प्रतिशतले वृद्धि भई एक खर्ब ७३ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३२ दशमलव दुई प्रतिशतले वृद्धि भएको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ७२ दशमलव नौं प्रतिशत र २५ दशमलव छ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २४ दशमलव नौं प्रतिशतले घटेको छ। वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैँचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्तमञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको छ ।
यसैगरी आर्थिक वर्ष २०७८-०७९ को दश महिनामा कुल वस्तु आयात २८ प्रतिशतले वृद्धि भई १६ खर्ब चार अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२ दशमलव तीन प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २२ प्रतिशत, २३ दशमलव आठ प्रतिशत र ४९ दशमलव नौं प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेसिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ । आर्थिक वर्ष सोही आधारमा चालु आवको १० महिनामा कुल वस्तु व्यापार घाटा २४ दशमलव नौं प्रतिशतले वृद्धि भई १४ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २१ दशमलव पाँच प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १० दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव छ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ८३ अर्ब ९४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ५५ अर्ब आठ करोड रुपैयाँ बराबरको भएको छ ।