Kath khabar
चाँगुनारायण नपाले दीर्घरोगीलाई आर्थिक सहयोग दिने

           भक्तपुर, जेठ २८। भक्तपुरको चाँगुनारायण नगरपालिकाले दीर्घ रोगीका बिरामीलाई आर्थिक सहयोग गर्नेभएको छ । नगरपालिकाले पालिकाका स्थानीय दीर्घ रोगीका बिरामीलाई मासिक रु पाँच हजार औषधि उपचारवापत आर्थिक सहयोग दिन लागेको हो ।

नपाले नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत मिर्गौला प्र्रत्यारोपण गरेको, डायलाइसिस गराइरहेका, मेरुदण्ड पक्षघात भएको र क्यान्सर रोगी भएको बिरामीलाई औषधि उपचारवापत खर्च उपलब्ध गराउने कार्यविधि, २०७८ बमोजिम बिरामीलाई आर्थिक सहयोग गर्ने नगरप्रमुख जीवन खत्रीले जानकारी दिनुभयो ।

प्रमुख खत्रीले दीर्घरोगीका बिरामीले लामो समयसम्म उपचार गरिरहनुपर्ने भएकाले बढी खर्चिलो हुने हुँदा बिरामीलाई आर्थिक भार कम गर्न औषधि उपचार खर्च उपलब्ध गराउने नीतिअन्तर्गत सहयोग दिने बताउनुभयो । नपाले बिरामीलाई सहयोग दिनेका नाम सङ्कलन गर्ने कार्य थालिसकेको प्रमुख खत्रीले बताउनुभयो ।

उपप्रमुखको सुविधाको सवारी साधन नगर अस्पताललाई
चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले आफूले पाउने सुविधाको सवारी साधन नगर अस्पताललाई हस्तान्तरण गर्नुभएको छ ।

हिजो चाँगुनारायण नगर अस्पतालमा पुगेर उहाँले उपप्रमुखले पाउने सुविधाको गाडी जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गर्नुभएको हो । उपप्रमुख बुढाथोकीले भन्नुभयो, “ मेरो सुविधाको गाडी नगर क्षेत्रभित्र रहेका वृद्धवृद्धा, शारीरिक अशक्त, दीर्घ रोगी, बिरामीलाई घरदैलोमै गइ चिकित्सकीय सेवा प्रदान गर्ने हेतुले अस्पताललाई हस्तान्तरण गरेको हुँ, नगरपालिकाबाट पाउने कुनै पनि सुविधा म लिन्न ।”

उहाँले नगरपालिकाबाट पाउने गाडी, पेट्रोल, तलब, भत्तालगायतका अतिरिक्त कुनै पनि सुविधा नलिने घोषणा गर्नुभयो । सफल व्यवसायीसमेत रहनुभएका उपप्रमुख बुढाथोकीले भन्नुभयो, “मैले पाउने तलब, भत्ता पनि छुट्टै कोष खडा गरेर नगर क्षेत्रका गरिव, जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्गता भएका, अशक्त व्यक्तिको वृत्ति विकासको क्षेत्रमा, महिला उद्यमशिलता एवं स्वरोजगारको क्षेत्रमा खर्च गर्नेछु ।”

 

प्रकाशित मिति: शनिबार, जेठ २८, २०७९  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update