काठमाडौं, जेठ ३०। ‘कुमारी आमा’ निहारिका राजपुत चार दिनदेखि वसन्तपुर दरबार स्क्वायरमा आमरण अनशन बस्नुभएको छ । धनुषाकी निहारिका राजपूत साढे दुई वर्षदेखि न्यायको खोजीमा भौतारिनुभएको हो ।
आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै उनी अनिश्चितकालीन अनसन बस्नु भएको छ। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली र राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापासहितका अधिकारकर्मीहरुले हिजो अनशनस्थल वसन्तपुर पुगेर निहारिकाको मागमा ऐक्यबद्धता जनाएका छन् ।
आफू १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उहाँको आरोप छ । बलात्कारपश्चात् रहेको गर्भबाट उहाँको छोरा जन्मियो । उहाँको काखमा अहिले २१ महिनाको छोरा छ । प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै आफ्नो मुद्दालाई कमजोर बनाएर लगेको उहाँको आरोप छ । जिल्ला अदालत धनुषाले २०७८ माघ २४ गते श्रेष्ठलाई सफाइ दिएको थियो ।
उहाँ भन्नुहुन्छ, ‘म बलात्कृत भएपछि न्यायका लागि कहाँ कहाँसम्म पुगिनँ होला । जहाँ जहाँ पुगे पनि मलाई नै गलत देखाइयो । प्रहरी प्रशासनले अनुसन्धानको सुरुवातदेखि नै मेरो मुद्दालाई कमजोर बनाएर लगिदियो । जब म न्यायको लडाइँमा होमिएँ, मैले न्यायालय, प्रहरी प्रशासन, राष्ट्रिय महिला आयोगबाट मात्रै असहयोग पाइनँ, म मेरै घरपरिवारबाट तिरस्कृत हुनुपर्यो । मेरो आमरण अनसनको उद्देश्य मैले न्याय पाउनुपर्यो । मजस्ता हजारौं निहारिकाहरुले न्याय पाउनुपर्यो ।’
उहाँले बच्चाको डिएनए टेस्ट गरिनुपर्ने, बलात्कारी खुलेआम हिँडिरहेकोले पक्राउ गरेर पुनः अनुसन्धान गर्नुपर्ने जस्ता माग राख्नुभएको छ । साथै उच्च अदालतले छिटोभन्दा छिटो पेशी तोकेर फैसला गरिदिनुपर्ने र २१ महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गरिदिनुपर्ने जस्ता मागहरु राख्नु भएको छ । उहाँले आफ्ना मागहरु पुरा नभएसम्म अनसन नतोड्ने उल्लेख गर्नुभएको छ ।