Kath khabar
कीर्तिपुरको फोहोर एनआरएनएले कोरियन प्रविधिबाट व्यवस्थापन गर्ने


        काठमाडौं, जेठ ३१। गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद) ले कीर्तिपुरमा कोरियन प्रविधिबाट फोहोर व्यवस्थापन गर्ने भएको छ । सोमबार किर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मी र एनआरएन (आई.सी.सी.का अध्यक्ष विनोद कुँवरको टोलीबीच फोहोर व्यवस्थापनको विषयमा पालिका कार्यालयमा छलफल भएको छ । सो छलफलमा दुबै पक्ष सकारात्मक रहेको सङ्घकी महासचिव जानकी गुरुङले बताउनुभएको हो ।

नेपालमा देखापरेको फोहर विसर्जनका समस्याहरुलाई न्यूनिकरण गर्न र त्यसलाई आधुनिक प्रविधिबाट प्रशोधन गरी उपयुक्त व्यवस्थापन गर्न नगरपालिकासँग समन्वय गर्न तयार रहेको र त्यस कार्यमा मेयर नकर्मी सकारात्मक भएको संघका अध्यक्ष कुँवरले बताउनुभयो । अध्यक्ष कुँवरले कोरियन सरकारले फोहोर समस्या नभएर त्यसको सदुपयोगबाट मोहर कमाएको उत्कृष्ट नमुना नेपालमा पनि प्रयोग गर्न चाहेको बताउँदै भन्नुभयो, “हामीलाई सरकारले आवश्यक जग्गा, जनताको घरघरमा व्यवस्थित डस्टबिन र जनचेतनासहितको  वातावरण दिएमा फोहोरबाट सुन फलाउन तयार छौं ।”

गैर आवासीय नोपलीहरु नेपालमा फोहोरदेखि ठूला उद्यौगिक क्षेत्रमा लगानी गरेर जनतालाई प्रशस्त रोजगारी, सरकारलाई राजश्व र देशलाई स्वर्ग बनाउन तयार रहेकोले सरकारले त्यसका लागि लगानीमैत्री वातावरण गरिदिनुपर्ने धारणा समेत राख्नुभयो । नगरप्रमुख नकर्मीले नगरलाई स्वच्छ र नागरिकलाई रोजगारी दिनसक्ने उत्साहित र देशप्रेमी जोकोही नेपालीलाई सकेजति सहयोग र सहकार्य गर्न आफू र आफ्नो टिम तयार रहेको बताउनुभयो ।

सो कार्यक्रममा नगरप्रमुख नकर्मीको कार्यकक्षमा भएको छलफलमा एनआरएन अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)की महासचिव गुरुङ, युरोप क्षेत्रका संयोजक उल्का घिमिरे र एनआरएन सेकेण्ड जेनेरेसन एम्बेसडर दिपेश खत्री पनि सहभागी रहेको छलफलले नगरप्रमुखसँग केहिदिनमा आर्को छलफलबाट कार्यको टुंगो लगाउने बताएको छ । संघका अध्यक्षको टालीले नवनिर्वाचित नगरप्रमुख नकर्मीलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिँदै गैरआवासीय संघको राम्रो काममा साथ रहने प्रतिबद्धतासमेत व्यक्ति गर्नुभएको थियो ।   


 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update