काठमाडौं, जेठ ३१ । लागुऔषध सम्बन्धी अनुसन्धानमा नेपाल प्रहरीले अहिले सम्मकै ठूलो सफलता पाएको छ । प्रहरीले २४ किलो सेतो हेरोइन सहित ३ दक्षिण अफ्रिकी नागरिकलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोले आइतबार र सोमबार गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ केजी सेतो हेरोइन बरामद गरेको हो । आइतबार १६ केजी तथा सोमबार ८ केजी हेरोइन बरामद भएको उच्च प्रहरी स्रोतले जानकारी दिएको छ ।
पक्राउ पर्ने तीनैजना दक्षिण अफ्रिकाका नागरिक हुन् । आइतबार मुरिल नसाम्बा र थान डेकिले सिबिसीलाई १६ केजी हेरोइन सहित एनसिबीको टोलीले पक्राउ गरेको हो । उनीहरू दुवैजना दुबई विमानस्थल हुँदै नेपाल आएका थिए । त्यस्तै, सोमबार दिउँसो दक्षिण अफ्रिकी नागरिक खानिसिली थभोनी थाबालालालाई ८ केजी हेरोइन सहित पक्राउ गरेको छ । भन्सार जाँचबाट बाहिरिसके पछि शंका लागेर थप चेक गर्दा उनले बोकेको ह्यान्डब्यागमा कालो र्यापिङ गरेको प्लास्टिक भित्र हेरोइन बरामद भएको विमानस्थलका एक प्रहरी अधिकारीले बताए।
२ दिनमा बरामद हेरोइनको मूल्य करिब ५० करोड रहेका लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी बताउँछन् । सेतो हेरोइन प्रतिकलो करिब २ करोडमा कारोबार हुने गरेको छ । नेपाल प्रहरीले अहिले सम्म एकै पटक यति धेरै हेरोइन बरामद गरेको थिएन । यसअघि गत वैशाखको पहिलो साता ७ केजी हेरोइन सहित ब्युरोले जाम्बियन र भारतीयलाई पक्राउ गरेको थियो । उनीहरूबाट ७ केजी हेरोइन बरामद भएको थियो । यसअघि सबैभन्दा धेरै बरामद हेरोइन त्यही थियो ।
अहिले बरामद लागुऔषध दक्षिण अफ्रिकाबाट आएको र यसको गिरोहका नाइके एकै व्यक्ति भएको आशंका गरिएको छ । लागुऔषधका अन्तर्राष्ट्रिय कारोबारीले दशकौँ देखि नेपाललाई तस्करीको ट्रान्जिट बनाउँदै आएका छन् । नेपालमा पक्राउ परे पनि कम सजाय हुने र विमानस्थलको सुरक्षा जाँच अन्य देशमा भन्दा फितलो हुने आकलनमा नेपाललाई ट्रान्जिट बनाउने गरिएको छ।
नेपालमा लागुऔषधसम्बन्धी मुद्दामा अधिकतम १५ वर्ष कैद सजाय हुन्छ । कतिपय देशमा मृत्युदण्ड सम्मको सजाय छ । नेपालमा हेरोइन सेवन गर्ने लागुऔषध दुर्व्यसनी थोरै भएकाले बरामद लागुऔषध भारत तस्करी गर्न लागिएको हुन सक्ने प्रहरी आशंका छ। विस्तृत अनुसन्धान भइरहेकाले तीन अफ्रिकी नागरिक पक्राउसम्बन्धी विवरणलाई प्रहरीले गोप्य राखेको छ ।