काठमाडौं, असार २। निमोनिया भनेको श्वासप्रस्वास सम्बन्धी संक्रमण हो। यसले फोक्सोमा असर गर्दछ। निमोनिया भएको अवस्थामा फोक्सोभित्र भएका स-साना हावाका थैलीहरूमा तरल पदार्थ भरिएर स्वास फेर्न कठिनाइ भइ शरीरमा आवश्यक अक्सिजनको मात्रामा कमी हुन जान्छ । ५ वर्ष मुनिका बच्चाहरूको मृत्युको प्रमुख कारण निमोनिया हो।
मुख्यतया बच्चाहरूको नाक र घाँटीमा रहेको सङ्क्रामक जीवाणु वा किटाणुहरु श्वासको माध्यमबाट फोक्सोसम्म पुगी निमोनिया गराउन सक्दछन्। संक्रमित व्यक्तिहरूले हाच्छ्युँ गर्दा वा खोक्दा थुक र सिँगानको छिटाबाट सर्न सक्दछ।
बिशेषगरी रोग प्रतिरोधात्मक क्षमता कम भएका पूर्ण स्तनपान गर्न नपाएका, कुपोषित र जन्मदै कम तौल भएका बालबालिकाहरूमा निमोनिया हुने सम्भावना बढि हुन्छ। खाना पकाउँदा निस्कने घर भित्रको धूवाँ र धूम्रपान गर्दा निस्केको धूवाँले साथै एउटै कोठामा धेरै मान्छेको भिडभाडले यो रोग लाग्ने सम्भावना बढाउँछ।
निमोनियाको लक्षणहरू के-के हुन् :
- ज्वरो
- शरीरमा काँडा उम्रने र कम्पन आउने
- छिटो छिटो सास फेर्ने
- स्वास फेर्न कठिन हुने
- कोखा हान्ने
- झोल कुरा पिउन नसक्ने वा आमाको दूध राम्ररी चुस्न नसक्ने
- धेरै सुतिरहने वा ब्युँझाउन गाह्रो हुने
- नाकबाट सिगान बग्ने
- खोकी लाग्ने
निमोनियाको उपचार तथा रोकथाम कसरी गर्ने :
- बच्चालाई पटक-पटक खाना वा झोल कुराहरू खान दिने
- बच्चाहरूलाई समयमा नै सबै खॊपहरुको पुरा मात्रा लगाउने
- बच्चा बिरामी पर्दा पनि पटक-पटक पूर्ण स्तनपान गराइरहने
- बच्चालाई धूवाँ धुलोबाट बचाउने, बच्चाको वरिपरि धूम्रपान नगर्ने र अरुलाई पनि गर्न नदिने
- बच्चाको नाक बेला बेलामा सफा गरिदिने
- बच्चालाई न्यानो पारेर राख्ने तर नगुम्साउने