काठमाडौं, असार २। नेपालको बैंक तथा वित्तीय संस्थालाई एकापसमा मिलाएर लैजान सक्ने भनेर परिचित ग्लोबल आइएमई बैंकले फेरि अर्को ऐतिहासिक निर्णय गरेको छ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकले एकापसमा गाभिने सम्झौता गरेको केही दिन पनि नबित्दै ग्लोबलले बैंक अफ काठमाण्डूसँग एकआपसमा गाभिने निर्णय गरेका हुन् । २ बैंकबीच एकआपसमा गाभ्न गाभिनका लागि आज प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा हस्ताक्षर भएसँगै रु ५२ अर्ब कूल पूँजी सहित मुलुककै सबैभन्दा ठूलो बैंकका रूपमा ग्लोबल आइएमई बैंकले आफ्नो स्थान बनाउनेछ । समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा बैंक अफ काठमाडौं लिमिटेडका तर्फबाट बैंकका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
मर्जर पश्चात बन्ने नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाडौंका तर्फबाट २ जना रहने सहमति भएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा रत्नराज बज्राचार्य रहने प्रारम्भिक सहमति भएको छ । यस अघि ग्लोबल आइएमई बैंकमा बज्राचार्य नै प्रमुख कार्यकारी अधिकृतका रूपमा हुनुहुन्छ ।
ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाडौं लिमिटेडको सम्पत्ति तथा दायित्व हाललाई १ अनुपात १ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ । कूल २१ बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा ‘क’ वर्गका वाणिज्य बैंक, १० विकास बैंक तथा ६ फाइनान्स कम्पनी समाहित भएको इतिहास समेत बन्नेछ ।
मर्जर पश्चात बैंकको कूल पूँजी रु ५२ अर्ब २९ करोड बराबर हुनेछ । चुक्ता पूँजी तथा व्यवसायको आकारका हिसाबले नेपालको सबैभन्दा ठूलो बैंकका रूपमा समेत स्थापित हुनेछ ।
साथै दुवै बैंकले गत जेठ मसान्त सम्म रु ६ अर्बभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् । २ बैंकहरूका ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, ३ वटा विदेश स्थित सम्पर्क कार्यालय, ३७ लाख भन्दा बढी ग्राहक सहित अन्य धेरै वित्तीय परिसूचकमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ ।
बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसर ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्ने सबैको हितलाई ध्यानमा राखी कार्यसम्पादन गर्ने दुवै बैंकका सञ्चालक समिति अध्यक्षहरूले सयुंक्तरूपमा प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले नेपालको बैंकिङ इतिहासमा एउटा ऐतिहासिक कार्यसम्पन्न भएको बताउनुभयो । ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशन परिपालनामा सधैँ पहिलो हुने गरेको जनाउँदै उहाँले उक्त मर्जरको समझदारीपत्रमा हस्ताक्षर गरिएको जानकारी दिनुभयो । उहाँले मर्जरपछि बन्ने नयाँ बैंक ठूलो मात्र नभएर सबै हिसाबले सर्वोकृष्ट बैंक बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
बैंक अफ काठमाडौंका अध्यक्ष श्रेष्ठले बैंकिङ क्षेत्रमा आजको दिन सधैँ स्मरणमा रहिरहने बताउनुभयो । उहाँले मर्ज हुनु प्राकृतिक प्रक्रिया भएको जनाउँदै मर्जर पछि बन्ने बैंक कस्तो बन्छ भन्ने मूल विषय रहेको बताउनुभयो । उहाँले नयाँ बैंकले नेपालको बैंकिङ क्षेत्रमा ठूलो सफलता हासिल गर्नेमा विश्वास प्रकट गर्नुभयो ।
शेयर कारोबार रोक्का :
नेपाल स्टक एक्स्चेञ्जले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौंको शेयर कारोबार रोक्का गरिदिएको छ । २ बैंकबीच बिहीबार मर्जर प्रक्रियामा सम्झौता भएपछि नेप्सेले शेयर कारोबार रोक्का गरेको हो । यी २ बैंक एकापसमा गाभिनका लागि आज बिहान ८ बजे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यससँगै उक्त मर्जर प्रक्रिया नसकिएसम्म दुवै बैंकको सेयर कारोबार रोक्का हुनेछ ।