
काठमाडौं, असार २। नेप्सेमा बल्ल भने हरियाली देखिएको छ । यसअघि लगातार घटेको नेप्से आज बिहीबार भने १२ दशमलव ५७ अंकले बढेर १९ सय ७८ दशमलव ९४ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि तीन दशमलव एक अंकले बढेर तीन सय ८२ अंकमा पुग्न सफल भएको छ । नेप्सेमा आज दुई सय २१ वटा कम्पनीहरुको २५ हजार पाँच सय ८५ पटकको कारोबारमा ३५ लाख ९४ हजार पाँच सय ९४ कित्ता शेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल शेयर कारोबार रकम एक अर्ब १८ करोड ७१ लाख ४५ हजार पाँच सय १९ रुपैयाँ कायम हुन पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएका छन् । सो मध्ये वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, निर्जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष सहितका ११ वटा समुहको सूचक बढेका छन् भने जीवन बीमा र लगानी समुहको सूचक घटेका छन ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज आँधीखोला लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर लिमिटेड, सामुदायिक लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने लुम्बिनी जनरल इन्स्युरेन्स कम्पनी, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था, माउन्टेन इनर्जी नेपाल लिमिटेड, घलेम्दी हाइड्रो पावर लिमिटेड आदिको शेयर घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने नेपाल टेलिकम, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, सिभिल बैंक, सानिमा बैंक आदि परेका छन् ।