विराटनगर, असार ५ । जलपन्क्षीहरुले अनुकुल वातावरण, शान्त र ठूलो क्षेत्रफल तथा फार्म ल्याण्ड भएका ताल र सिमसार क्षेत्रहरु मन पराउँछन्। नेपालमा प्रत्येक वर्ष असोज महिनाको अन्त्यतिर रुसको साईबेरिया, पूर्वी युरोप, एशियाका भागबाट विभिन्न प्रजातिका चराहरु बसाँईसरी नेपाल आउने गर्दछन्। उत्तरमा रहेका हिमश्रृङ्खला छिचोलेर आउने चराहरु करिब ७ महिनाको बसाईपछि जेठ महिनाको सुरुवातसँगै आफ्नो घर फर्किने गर्दछन्। सिमसार तथा तालहरुमा सबैभन्दा बढी पौष, माघ र फाल्गुण महिनामा जलपन्क्षीहरु देख्न पाईन्छन्।
तर पछिल्लो समय बसाँईसरी नेपाल आउने ती जलपन्क्षीहरुले आफ्नो गन्तव्य बदल्न थालेका छन्। बढ्दो अव्यवस्थित सहरीकरण, मानवीय चहलपहमा वृद्धि, बासस्थानको विनाश, सिमसार क्षेत्रमा वनभोज स्थलको विकास र फार्म ल्याण्डमा विषादीको अत्याधिक प्रयोग लगायतका कारण पछिल्लो समय चराहरु लोप हुन थालेका हुन्। नेपालमा हालसम्म गणना भएका ८ सय ८८ प्रजातिका चराहरुमध्ये सबैभन्दा बढी सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा ५ सय २८ प्रजातिका चराहरु पाईन्छन्। बाँकी ३६० प्रजातिका चराहरु सुनसरीको बर्जुताल, पूर्वी मोरङको बेतना र उर्लाबारी तथा प्रदेश नं। २ को भारदह र कमलदह सिमसार क्षेत्रमा पाईन्छन्। तर पर्यटन पूर्वाधार निमार्णको नाममा चराचुरुङ्गीहरुको बासस्थान नै सखाप हुनेगरी सिमसार क्षेत्रहरुमा संरचना ठड्याउने कार्य नरोकिए पछि दुर्लभ मानिएका चराहरु लोपोन्मुख अवस्थामा पुगेका छन्।
प्रदेश नं। १ को राजधानी विराटनगर देखि साढे १३ किलोमिटर पश्चिममा पर्छ सुनसरीको चिमडी बजार। चिमडी बजार देखि २ किलोमिटर पश्चिममा छ बर्जुताल। बर्जु गाउँपालिका ६ मा रहेको यो ताल १ सय ५२ बिगाहा क्षेत्रफलमा फैलिएको छ।
सुनसरीको दक्षिणपूर्वी भेगमा पर्ने बर्जु गाँउपालिकाको परिचय तालसँग जोडिएको भएपनि तालको परिचय भने यहाँको पर्यावरण, जलचर र चराहरुसँग जोडिएको छ। यहाँ ४० प्रजातिका जलपन्क्षीका साथै विभिन्न प्रजातिका पुतली र सरिसृपहरु पाईन्छन्। यहाँको वातावरण चराहरुका लागि अनुकूल रहेको कोशी पन्क्षी समाजका अध्यक्ष सञ्जीव आचार्य बताउँछन्। तर आसपासका स्थानीयको जिविकोपार्जनसँग समेत जोडिएको उक्त तालको अवस्था अब पहिले जस्तो नरहेको उनको भनाई छ।
स्थानीय पञ्कज मेहता भन्छन्, ‘गाउँका साथीहरु पहिले माछा मार्न तालमा आउँथे । एकपटक जाल थापेपछि छाक टथ्यो। तालमा घाम छेक्ने गरी चराका बथान आँउथे। तर, अहिले बर्जु ताल विनाश उन्मुख भएको छ।’
बर्जुतालमा अहिले तालको पानी सुकाएर कृत्रिम संरचना निमार्णको कार्य भईरहेको छ। ताल भित्र डोजर चलिरहेको छ। ७ करोडको लागतमा रेष्टुरेन्ट सहितको ९ तले भ्यूटावर निमार्णको कार्य भईरहेको छ। तालको पानी सुकाईएका कारण चरा एउटै छैनन्। स्थानीय विराज यादव भन्छन्, ‘हामी घुमफिर गर्न, चराको फोटो खिच्न प्रायः आईरहन्छौं। तर, अहिले आएर छक्क परेका छौं। चरा एउटै छैनन्। हुनुपनि कसरीरु मानिस नभएको ठाउँमा चरा बस्ने हो। तर, चरा बस्ने ठाउँमै मेसिन चलेपछि त के हुन्छ ?’
बर्जुतालको रेखदेखका निम्त्ति गाँउपालिकाबाट नियुक्ति पाएका मनिकलाल चौधरी तालमा जारी निमार्णका कार्यका कारण चराहरु नआएको स्वीकार गर्छन्। बर्जुमा जम्मा ३ वटा ताल छन्। पूर्वपट्टिको तालमा अलिअलि पानी भएपनि पश्चिमपट्टिका दुवै ताल सुकाईएका छन्। पूर्वको ताल घुमफिर र पिकनिकका लागि आउनेलाई बोटिङका निम्त्ति छोडिएको छ। भ्यूटावरको निमार्ण कार्य सम्पन्न भएपछि वर्षायाममा नजिकै रहेको खोलामा आएको बाढी ल्याएर तालमा पुनः पानी भर्ने योजना छ। चौधरी भन्छन्, ‘पानी भरिएपछि सायद अवस्था फर्किएला।’ २ वर्ष अघि मात्रै बर्जुतालमा चरा गणकहरुले ‘वैकाल्टिल हाँस’ रेकर्ड गरेका थिए। नेपालमा दुर्लभ मानिने उक्त जलपन्क्षी २०६८ सालपछि पहिलोपटक २०७६ सालमा देखापरेको थियो। तर, पर्यटन विकासका निम्त्ति भन्दै पर्यावरणीय पक्षलाई समेत खयाल नगरी गाउँपालिका द्वारा जारी भ्यूटावर निमार्णको कार्यले हाल उक्त हाँस पनि लोप हुने अवस्थामा पुगेको छ।
पर्यटनलाई पैसासँग जोडेर हेर्न खोजिएका कारण बर्जुतालको ऐतिहासिक, पुरातात्विक र पौराणिक महत्वसमेत ओझेलमा पर्दै गएको विराटनगरस्थित स्नातकोत्तर क्याम्पसका उप - प्राध्यापकसमेत रहेका वातावरण क्षेत्रका जानकार रामचन्द्र अधिकारी बताउँछन्। ‘गाउँपालिकाले इको टुरिज्मको अवधारणा बमोजिम उक्त भ्युटावर निमार्ण गरेको देखिन्छ। तर, जलचरहरुको बासस्थान नै सखाप गर्नेगरी विकास निमार्ण गर्नु ठीक होईन्,’ उनी भन्छन्, ‘बर्जुताल तराई र मधेशको सबैभन्दा ठूलो जलाशयको रुपमा रहेको छ। यहाँ दुलर्भ वनस्पतिहरु पनि पाईन्छन्। तर, अब त्यो सबै सकिने भयो।’
बर्जु गाउँपालिकाका अध्यक्ष जिवच्छ कुमार राय स्थानीयको गुनासो सम्बोधन हुनेगरी समस्या समाधानमा आफू लागिपरेको बताउँछन्। जलपन्क्षीहरुको संरक्षणका निम्त्ति छिट्टै नै योजना निमार्ण गरी कार्यान्वयनमा ल्याउने उनको भनाई छ। ‘धेरै कुराहरु मलाई थाहा छैन्। बुझ्ने क्रममा छु,’ उनी भन्छन्, ‘कसरी, के गर्न सकिन्छरु हामी गर्छौं।’
सुनसरीको बर्जुताल मात्र नभई प्रदेश नं. १ को मोरङ र सुनसरीका अन्य सिमसार र तालहरुको अवस्था पनि उस्तै छ। पर्यटन विकासको नाममा पर्यावरणलाई खयाल नगर्दा जलचरहरु यथोचित बासस्थानको खोजीमा बसाँई सर्ने क्रम जारी छ। चरा विद्हरुका अनुसार कोशी टप्पु वन्यजन्तु आरक्षमा २०७७ को तुलनामा २०७८ मा चराहरुको संख्यामा ६५ प्रतिशतले कमी आएको छ। यसवर्ष पनि सो क्रम जारी रहने उनीहरुको आङ्कलन छ।