Kath khabar
यस्तो छ महानगरको वार्षिक नीति तथा कार्यक्रम


         काठमाडौं, असार ६।  काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले ११ औँ नगर सभामा आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पेश गर्नुभएको छ । हिजो राष्ट्रिय सभा गृहमा उहाँले ४१ बुँदामा आ.व. २०७८/०७९ को वार्षिक समीक्षा प्रस्तुत गर्दै भन्नुभयो -

'स्थानीय तहको निर्वाचनबाट मतदान मार्फत विजयी बनाउनुहुने सबै नगरवासीहरुलाई धन्यवाद । नेपालको संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना र सुशासनको लागि नेपाली जनताले गर्दै आउनुभएका जनआन्दोलनमा शाहदात प्राप्त गर्नुहुने शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु । काठमाडौंको इतिहास, संस्कृति, सम्पदाको संम्वद्र्धन संरक्षण गर्नु हाम्रो पहिलो कर्तव्य हो । काठमाडौंको फोहोर व्यवस्थापन लामो समयदेखि समस्याको रुपमा रहँदै आएको सन्दर्भमा यसको दिगो र वैज्ञानिक व्यवस्थापन हाम्रो प्रस्थान विन्दु बनेको छ ।'

काठमाडौँ महानगरपालिकाको नीति तथा कार्यक्रमका योजना छोटकरीमा –

  • हरेक आइतबार जनतासँग मेयर कार्यक्रम सञ्चालन गरिने
  • दरबार हाइ स्कुललाई अन्तराष्ट्रियस्तरको नमुना विद्यालय बनाइने
  • नेवारी पेय पदार्थलाई अन्तराष्ट्रिय स्तरमा ब्राण्डिङ गरिने
  • विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइने ।
  • फुटपाथको स्तरोन्नति तथा बस स्टपहरुमा परम्परागत शैलीको फल्चाहरु बनाइने
  • फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न आबश्यक प्रबन्ध मिलाउने
  • सार्वजनिक सवारी साधनहरुमा जिपिएस सहितको सिसिटिभी जडान गीरने
  • करदाताका स्वास्थ्य बीमामा ५० प्रतिशत अनुदान दिइने
  • एकिकृत एम्बुलेन्स सेवा सञ्चालन गरिने
  • कम्पनी मार्फत भाडा लिनेदिने व्यवस्था गरिने
  • महानगरले आफ्नै मार्ट खोल्ने
  • ७० बर्ष नाघेका बरिष्ठ ज्येष्ठ नागरिकहरुको घरमा गई स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइने
  • खुलामञ्च छेउमा भूमिगत पार्किङ बनाइने
  • कला क्षेत्रको लागि एमपि थिएटर निर्माण गरिने तथा डबलीहरुको पुर्नस्थापना गरिने
  • महानगरको कार्यालय रहेको बागदरबारलाई पुनःनिर्माण गरिने
  • फोहरलाई पुन: प्रयोग र प्रशोधन गर्न श्रोतमा नै बर्गिकरण गर्ने व्यवस्था मिलाईने,
  • महानगरका सेवालाई होमडेलिभरीको अवधारणामा लगिने

हिजो पेश भएका नीति तथा कार्यक्रमहरुका विषयमा असार ८ गते छलफल कार्यक्रम हुनेछ। ११ औँ नगर सभाको दोस्रो बैठकमा नगर सभा सदस्यहरुले नीति तथा कार्यक्रममाथि आफ्ना धारणा तथा सुझाव राख्नुहुनेछ ।

 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १०:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update