काठमाडौं, असार ६। पछिल्लो समय महिलाहरूमा स्तन क्यान्सरको समस्या बढ्दो छ । विशेष गरी ३० देखि ४० वर्ष उमेर समूहका महिलाहरुमा यस्तो समस्या देखिने गरेको छ । तर, धेरैलाई थाहा नहुनसक्छ, महिलामा मात्र होइन, पुरुषमा पनि स्तन क्यान्सर हुनसक्छ ।
नर्भिक इन्टरनेशनल हस्पिटलमा कार्यरत ल्याप्रोस्कोपिक सर्जन डा.बानिरा कार्कीले पछिल्लो समय पुरुषहरूमा समेत ब्रेस्ट क्यान्सरको समस्या देखिन थालेको उल्लेख गर्दै सचेत हुन आग्रह गर्नुभएको छ । ‘विशेष गरी ६० देखि ६५ वर्ष र त्यसभन्दा माथि उमेरसमूहका पुरुषहरुमा ब्रेस्ट क्यान्सरको समस्या देखिने गरेको छ ।’ उहाँले भन्नुभयो, पछिल्लो समय १०० ब्रेस्ट क्यान्सरबाट पीडित महिला भेटिँदा १ जना सोही समस्याबाट पीडित पुरुष बिरामी समेत भेटिन थालेको छ ।’
डा. कार्कीका अनुसार पुरुषहरूको स्तन छेउछाउ सानोतिनो घाउ आउँदा, निप्पलबाट पानी मिश्रित रगत वा पिप बग्न थाल्दा, रातो रातो गिर्खा निस्किँदा पुरुषहरुले सचेत हुनुपर्छ । ब्रेस्ट क्यान्सरबाट पीडित पुरुषहरुको निप्पल पनि महिलाको जस्तै भित्रतिर तानिन थाल्छ । गाँठागुठी आउँदा दुख्दैन । ‘धेरैजसो पुरुषहरू स्तन वरपर बिबिराजस्तो आयो, रातो भयो भने छालाको एलर्जी भनेर छालारोग विशेषज्ञसम्म पुगिरहनु भएको हुन्छ । तर त्यस्तो लक्षण क्यान्सरको पनि हुनसक्छ ।’ डा. कार्कीले थप्नुभयो- ‘स्तन वरपर हुने इन्फेक्सनलाई साधारण ठानेर बस्नु भएन । क्यान्सर विशेषज्ञको परामर्श लिनु उचित हुन्छ ।’
कतिपय पुरुषहरूमा स्तन छेउछाउ काखीतिर, घाँटीको भाग र केही तल गाँठागुठी आयो र त्यो बढ्दै गयो भने त्यसलाई समेत ब्रेस्ट क्यान्सरको लक्षण मान्न सकिन्छ । डा. कार्कीका अनुसार धेरै मोटो व्यक्ति, जंकफूड बढी मन पराउने, अनहेल्दी फुड प्रयोगमा जोड दिने, धूम्रपान गर्ने, बढी मदिरा सेवन गर्ने पुरुषहरूमा ब्रेस्ट क्यान्सर हुनसक्छ । तसर्थ, यस्ता फूडहरुबाट टाढै बसी स्वस्थकर जीवनशैली र खानपान अपनाउनुपर्छ ।
डा. कार्कीले महिलाहरूमा हुने स्तन क्यान्सरभन्दा पुरुषमा हुने स्तनक्यान्सर छिटो शरीरका अन्य अंगतिर फैलनसक्ने जोखिम रहेको बताउनुभयो । ‘केटी मान्छेको स्तनको भाग ठूलो र धेरै हुन्छ । तर केटाको सानो हुन्छ ।’ उहाँले भन्नुभयो, त्यसले गर्दा केटा मान्छेमा ब्रेस्ट क्यान्सर भयो भने छातितर्फ चाँडै फैलिने जोखिम हुन्छ । त्यसकारण बेलैमा देखाइएन भने अवस्था निकै नै गम्भीर भइसकेको हुनसक्छ ।’
उहाँले मिल्दोजुल्दो कुनै पनि लक्षण देखियो भने साधारण गिर्खा, गाँठो वा इन्फेक्सन हो भनेर नबस्न समेत पुरुषहरुलाई आह्वान गर्नुभएको छ ।