Kath khabar
सन्दर्भ विश्व संगीत दिवस

         काठमाडौं, असार ७। संगीत मानव जीवनको लागि अपरिहार्य विषय हो । संगित गायनकला, वादनकला र नृत्यकलाको सामूहिक प्रस्तुति हो । इतिहासलाई फर्केर हेर्दा मानव सभ्यता र संगीतको अद्वितीय सम्बन्ध अपरिहार्य रहँदै आएको छ।

सत्ययुगमा नारदको एकतारे, कृष्णको बासुरीको गाथा, ग्रन्थहरुमा हामीले भेटेका छौ । नेपालको सांगीतिक इतिहासलाई केलाएर हेर्ने हो भने गन्धर्व जातिहरूले संगीत मार्फत रामायण, महाभारतका किस्साहरू, लगायत सुखदुःखका समाचार सम्प्रेषण पनि संगीत मार्फत नै गर्ने गरेको भेटिन्छ। हामी नेपालीहरूको संगीतसँगको सम्बन्ध जन्मदेखि मरणसम्म रहेको सर्वविदित नै छ । हाम्रो संस्कार र संस्कृति पनि संगीतसँग अछुतो छैन । विवाहमा पञ्चे बाजा होस् या मृत्यु पश्चात् आर्यघाटको यात्रामा शंख ध्वनि।

नेपालमा कुल १२५ जात जातिका अल्पसंख्यक वा बहुसंख्यक जाति मध्ये ८० जात जातिका सम्प्रदायले आ-आफ्नो कलाकृति, बाजागाजाको सम्वर्द्धन गरिरहेको अध्ययनले देखाएको छ र यो पनि संरक्षणको अभावमा लोप हुने खतरामा छ । पूर्वको मारूनी, पश्चिमको देउडा, उत्तरको सेलो होस् या दक्षिणको मैथिली र भोजपुरी । मौलिकता भिन्नाभिन्नै रहेपनि संगीत र संस्कारलाई सबै नेपालीले अनुशरण गरि नै रहेका छन् ।

नेपाली गीत प्रथमपटक ग्रामाफोन(डिस्क)मा कलकत्ता गई रेकर्ड गराउने व्यक्ति हुन् सेतुराम श्रेष्ठ। बुवा कृष्णधर श्रेष्ठ र माता हरिदेवी श्रेष्ठको कोखबाट काठमाण्डौको असन कमलाक्षिमा १८९१ मा जन्म लिनु भएका सेतु राम श्रेष्ठले त्यसताका काठमाण्डौंदेखि हिडेरै कलकत्ता पुगी रेकर्ड गराएको गीत हो ‘राजामति’।

त्यसैगरी नेपालको पहिलो महिला गायिका हुन् मेलवा देवी । मेलवा देवीको जन्म ओखलढुङ्‌को रुम्झाटारमा वि.सं. १९५४ मा भएको थियो भने सानै उमेरमा निकै मिठो स्वरका कारण गाउँ घरमा निकै ख्याति कमाईसकेपछि उनका बुबाले काठमाण्डौ लिएर आएका थिए । उनको वास्तविक नाम सुनमाया गुरुङ भएता पनि दरवार प्रवेशसँगै तात्कालिन प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर राणाले उनलाई मिठो स्वरका कारण मेलवादेवी नामाकरण गरिदिएका थिए र दरवारमा प्रशिक्षकको रुपमा २ दिनको १ मोहर पारिश्रमिक सहित सिंहदरवारको उत्तरतर्फ बस्ने व्यवस्था मिलाई दिएका थिए । दुई वर्षको बसाईपछि वि.सं. १९८५मा भारतको कलकत्तास्थित एच.एम.भी  (HMV) His Master Voice Recording Studio मा आफ्नै शब्द, संगीत र स्वरमा मेलवा देवीले 'सवारी मेरो रेलैमा' बोलको पहिलो गीत रेकर्ड बनाउनु भयो।  विधिको विडम्बना बि.सं. २०१२ मा खाना पकाउने क्रममा स्टोभ पड्किएर उहाँको देहान्त भएको थियो।

वि.सं.२००७ चैत्र (इ.सं. १९५१ अप्रिल) मा रेडियो नेपालको स्थापना भएसँगै नेपालको प्रथम गायक हरि प्रसाद रिमालले रेडियो नेपाल मार्फत प्रत्यक्ष गीत गाउनु भएको थियो ।  हरि प्रसाद रिमालको स्वरमा श्रोताहरू यत्ति मोहित हुन्थे कि गीत प्रसारण हुनु पूर्व नै कार्यक्रम सञ्चालकले उद्‌घोष गर्ने गर्थे 'यदि तपाईंको कुनै काम छ या कतै जानु छ भने कृपया हिडि हाल्नुहोस्' भनि अवगत गराउथे भन्ने जिवित उदाहरणहरू पनि भेटिएका छन् ।

वि.स. २००७ चैत्रमा रेडियो नेपालको स्थापनासँगै यसले SW, MW, 533KW मार्फत प्रसारण शुरु गरेको थियो भने सन् १९९५ मा रेडियो नेपालले एफएम च्यानल 1KW Stereo transmoter मार्फत प्राईभेट एफएम स्टेशनहरुलाई प्रसारण गर्न र गराउन शुरु गर्यो ।

रेडियो नेपालमा स्वर परिक्षा पास र उतिर्ण भएपछि मात्र गीत गाउन पाइन्थ्यो । तात्कालिन समयमा संगीत सिक्न अध्ययनको निम्ति भारत जाने प्रचलन थियो भने कति स्वअध्ययनले नै यो क्षेत्रमा प्रवेश गरेको पाइन्छ। तत्कालिन समयमा रेडियो नेपाल प्रवेश भएका कलाकारहरू जनार्दन सम, बटु कृष्णज्वाला, गोविन्द ब.गुरुङ, नातिकाजी, हरि प्रसाद रियाल, धर्मराज थापा, कृष्ण मान डंगोल, सी.के रसाइली आदि हुनुहुन्थ्यो भने विसं. २०१० साल यता प्रेमध्वज प्रधान, माणिक रत्न, पुष्प नेपाली, बच्चु कैलाश, तारादेवी आदिको  महत्वपूर्ण योगगदान रह्यो ।

रेडियो नेपालको स्थापनासँगै भजन, शास्त्रीय, लोक, राष्ट्रभाव तथा आधुनिक संगीतको उदय हुदै गर्दा सन् १९६१/६२ ताका प्रेमध्वज प्रधानले गोल्डन भ्वाइस (Golden Voice) को उपाधि भिरिसकेका थिए । नेपालमा पहिलो अटोग्राफ दिने तथा गितार बजाउदै गाउने गायक पनि प्रेमध्वन प्रधान हुन् । सन् १९६३ ताका नेपाली संगीत जगत्‌मा नयाँ स्वरको आगमन भयो स्व.स्वर सम्राट नारायण गोपाल गुरुवाचार्यको । सन् १९६३ देखि १९९० को दशक नेपाली सांगीतिक फाँटको यो काल सुगम गीतको स्वर्णिम युगका रूपमा मान्न सकिन्छ ।

उता दार्जिलिङ, कालिङपोङ, खर्साङ, सिक्किम लगायत विभिन्न ठाउँहरूमा नेपाली गीत संगीत प्रतिको मोह प्रचुर मात्रामा रहेको उदाहरण अम्बर गुरुङ्ग, दिव्य खालिङ्ग, गोपाल योञ्जन, अरुणा लामा, शरण प्रधान, शान्ति ठटाल, कर्म योञ्जन, कुमार सुब्बा, कुन्ती सुन्दास, प्रवित्रा सुब्बा, सुनिता सुब्बा, आदिको उदय भइरहँदा यता काठमाण्डौमा शिव शंकर, नातिकाजी, भक्तराज आचार्य, राम थापा, बच्चु कैलाश, फत्तेमान राजभण्डारी, पन्नाकाजी, रमेश ताम्राकार, झलकमान गन्धर्व, लाल ब.खाती, कुमार बस्नेत, अरूण थापा, ओम विक्रम बिष्ट, रविन शर्मा, प्रकाश श्रेष्ठ, दिपक खरेल, दिप श्रेष्ठ, तीर्थ कुमारी, मीरा राणा, ज्ञानु राणा, स्व.जय नन्द लामा आदिले नेपाली संगीत जगतलाई जगमा स्वर्णिम ईटाहरूले सजाउदै जानुभयो ।

(नोट : सन्दर्भ विश्व संगीत दिवसको बाँकी अंश यही स्तम्भमा प्रकाशन गर्नेछौं)

 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update