काठमाडौं, असार ७। रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टी राख्नुभएको छ । पार्टीको चुनाव चिन्ह सार्वजनिक गर्दै उहाँले भन्नुभयो, हामी भ्रष्टहरुको दिमागमा घण्टी बजाउँछौं । उहाँले आफू राजनीतिमा राजनीतिको हिलो सफा गर्न आएको बताउनुभयो ।
उहाँको पार्टीले व्यवसायीसँग चन्दा नलिने, भातृ संगठन नहुने कुरा उल्लेख गर्नुभएको छ। उहाँँले फोहोरमैलाको व्यवस्थापनमा सहकार्य गर्ने कुरा पनि जानकारी दिनुभएको छ। राजनीति इमान भएको जोकोहीले पनि गर्नसक्ने बताउदै, उहाँले आफ्नो पार्टीमा परिवारवादलाई पूर्ण रुपमा निषेध गर्ने, नातागोताले नियुक्ति नपाउने तथा जान्नेलाई छान्ने जस्ता कुराहरु व्यक्त गर्नुभएको छ । साथै उहाँले व्यापारी/घरानाबाट कुनै चन्दा शुल्क सहयोग नलिने, चन्दाको गन्धा धन्दा कहिल्यै नगर्ने कुरा पनि व्यक्त गर्नुभयो ।
उहाँले पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा राख्ने जानकारी दिदैं पार्टीको पहिलो बैठक आजै बसुन्धारामा बस्ने जानकारी दिनुभएको छ । साथै पार्टीलाई युवाहरूको पार्टी बनाउने भन्दै पार्टीमा ५० प्रतिशत केन्द्रीय सदस्य युवा हुने कुरा बताउनुभएको छ । उहाँले आफ्नो पार्टीमा अहिले २१ जना रहेको बताउनुभयो ।
उहाँले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको बुँदालाई प्रष्ट्याउदै भन्नुभयो, 'यदि मैले प्रधानमन्त्री हुन चाहेको हो भने पार्टी भित्रको चुनावमा साधारण सदस्य पनि उठ्न सक्ने र सभापति पनि उठ्न सक्नेगरी उठ्नु पर्नेछ । साधारण सदस्यहरुले प्रत्यक्ष निर्वाचित गरेर जिताएको व्यक्ति मात्रै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा जानेछ । र आफ्नो दलभित्र प्राइमरीमा प्रधानमन्त्रीको उम्मेदवारी दिएर (जो जसले पनि दिन पाउनेछ) जितेर जाने व्यक्तिले आम निर्वाचनमा आफ्ना मन्त्रीमण्डल नै घोषणा गरेर चुनावमा जान पाउनेछ ।'
उहाँले डिजिटल डेमोक्रेसीको अभ्यास गर्ने कुरा बताउदै अब डिजिटली भोट हाल्ने कुरा पनि जानकारी दिनुभएको छ ।