Kath khabar
कलाकारहरूको पनि आर्थिक उन्नति हुनुपर्छ भन्ने आवाज उठाउने प्रथम व्यक्ति स्व. नारायण गोपाल

   (सन्दर्भ विश्व संगीत दिवसको बाँकी अंश)         

          काठमाडौं, असार ९। संगीत र चलचित्र जगत एकआपसमा अछुतो रहन सक्दैन । पहिलो नेपाली चलचित्र 'हरिशचन्द्र'मा भारतीय गायक तथा संगीतकार जयदेवले संगीत दिएका थिए भने १९३८/०४/०४ मा दार्जिलिङमा जन्मनु भएकी अम्बर गुरुङकी शिष्या शान्ति ठटाल नेपाली चलचित्र जगतकै पहिलो महिला संगीत निर्देशक भई चलचित्र 'माइतीघर'मा संगीत दिनुभयो ।

गायक ओम बिक्रम विष्ट चलचित्र 'जुनी' 'के घर के डेरा' मा नायकका निम्ति चुनिएका थिए तर सो प्रस्ताव ओम बिक्रम विष्टले अस्वीकार गरे । नायक भुवन केसी काठमाण्डौँमा गायकका रूपमा स्थापित हुन चाहन्थे । उनी चलचित्र जुनि मार्फत पर्दामा उत्रिए । गायक ओम बिक्रम विष्टले आफ्नो गायन यात्रा बि.सं २०२८ सालदेखि नास: खलबाट गायन यात्रा शुरु गरेका थिए। पछि रेडियो नेपालमा शास्त्रीय गायनबाट यात्रा शुरु गरेका विष्ट वि.सं २०४१ सालमा रत्न रेकर्डिङ संस्थानले आयोजना गरेको गायन प्रतियोगितामा भक्तराज आचार्य र ओम विक्रम विष्ट प्रथम हुनुभएको थियो । त्यसैगरी विष्टले नारायण गोपालको धेरै गीतहरूमा बेश गिटार बजाउनु भएको थियो, भने नारायण गोपालको संगीतमा गायक बिष्टले एउटा गीत गाउने कुरो थियो तर पछि सो गीत नारायण गोपालले स्वयं आफैले नै गाउनु भयो । सो गीत थियो 'केही मिठो बात गर'। 

त्यसैगरी गायक विष्ट र अरुण थापाको मीतज्यूको प्रसङ्गको कुरो गरौँ । पाटन कलेजमा अध्ययनरत रहँदा ओम विक्रम विष्ट बानेश्वरदेखि पाटन आँउथे भने अरुण थापा ललितपुरको झम्सिखेल बस्थे, दैनिक भेट हुने र चियापानसँगै हुने क्रममा एकदिन अरुण थापा र ओम वि.विष्ट चिया पसलमा चिया पिउँदै थिए, दुई जना गुण्डाहरूले अरूण थापालाई पिटेपछि ओम वि.बिष्टले आफूले लगाएको पेटीले ति दुई गुण्डाहरूलाई कुटेर खेदे, पछि फेरि ति गुण्डाहरू दुवैलाई खोज्दै हासापूथि गणेशथान आएपछि ओम वि. बिष्टले एउटा शर्त राखे, 'यदि मैले तिमीहरूलाई फेरि कुटे भने अरुणलाई तिमीहरूले कहिल्यै पनि छुन पाउदैनौँ' भनी चुटेर भगाइदिए । त्यसपछि मित लगाएको उहाँको कुराकानीको संझनाबाट सार लिइएको हो । यी दुई मीतज्यूले एकअर्काको निमित्त एउटा-एउटा गीत मात्र गाउनु भएको छ ।

नारायण गोपाल र गोपाल योञ्जनको मितेरी यात्रा शुरु गराउने व्यक्ति हुन् नगेन्द्र थापा । नेपाली संगीतमा अर्केस्ट्राको विकास, गुणस्तर कलाकारहरूको पनि आर्थिक उन्नति हुनुपर्छ भन्ने सोचका साथ आवाज उठाउने प्रथम व्यक्ति हुन् स्व. स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य । त्यतिबेला प्रकाशचन्द्र लोहनी सञ्चारमन्त्री छँदा, रेडियोमा विज्ञापन विस्तार गर्दा गीतहरु बजाउनैपर्ने र जुन कलाकारको गीत बज्छ ती कलाकारहरुलाई एकपटक बजेको गीतको ५ पैसा मात्र किन नहोस् रोयल्टी स्वरूप दिनुपर्छ भनी संचार मन्त्री एवं अन्य पदाधिकारीलाई भेटेर प्रस्ताव समेत राख्नु भएको थियो। तर उक्त प्रस्ताव खासै कार्यान्वयन हुन भने सकेन। पछि उँहाले नेपालको एकमात्र रेडियो नेपाललाई आफ्नो गीति यात्रा-१ का गीतहरू बजाउन दिनुभएन एउटा गीत बाहेक । र त्यो गीत थियो चाँदनी शाहद्वारा रचित 'एउटा मान्छेको मायाले कति फरक पर्दछ जिन्दगीमा..........'

प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ०९:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update