काठमाडौं, असार ९। काठमाडौंको बागबजारको पानीमा हैजा फैलाउने जीवाणु भेटिएको छ ।
हैजा देखिएका काठमाडौंको बागबजारका दिदीबहिनीमा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएसँगै धारा र ट्युबवेलबाट आएको पानीको नमुना परीक्षण गर्दा हैजामा पाइने जीवाणु भेटिएको स्वास्थ्य विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मनलाल दासले बताउनुभयो ।
‘धारा र ट्युवबेलबाट आएको पानीको नमुना परीक्षण गर्दा रिर्पोटमा कोलोफर्म र इकोली जीवाणु भेटियो,’ उहाँले भन्नुभयो । इकोली र कोलीफर्म मानिसको दिसामा रहने संक्रामक जिवाणु हो । हैजा देखिएका अन्य क्षेत्रको पनि पानीको नमुना परीक्षण भइरहेको उहाँले जानकारी दिनुभयो । महाशाखाका अनुसार अहिलेसम्म ५ जनामा हैजा पुष्टि भइसकेको छ ।
बागबजार वरपर हैजा देखिएको क्षेत्रका अन्यमा भने अहिलेसम्म हैजाको लक्षण देखिएको छैन । तर उच्च जोखिम रहेकाले वरिपरिका नागरिकलाई निगरानीमा राखिएको उहाँले जानकारी दिनुभयो ।