Kath khabar
चार्टर उडानमार्फत नेपाली विदेश जान सक्ने, वैदेशिक रोजगारीमा जानेलाई लाभ

काठमाडौं, जेठ ८ । सरकारले चार्टर उडान मार्फत नेपालीहरुलाई विदेश जान दिने निर्णय गरेको छ । सरकारले चार्टर उडान (विमान) मार्फत नेपाली तथा विदेशी नेपालबाट अन्य मुलुकमा जान सक्ने निर्णय गरे सँगै नेपाली नागरिकहरु वैदेशिक रोजगारीमा जान सक्ने भएका हुन् । सरकारको निर्णय सँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चार्टर उडान मार्फत नेपाली नागरिकलाई विदेश जानको लागि सहज वातावरण निर्माण गरेको जनाएको छ ।

नागरिक उड्ड्यन प्राधिकरण (क्यान) का प्रवक्ता राजकुमार क्षेत्रीले नियमित उडान नभइरहेको वर्तमान अवस्थामा चार्टर उडान गर्ने अनुमति प्राप्त उडानमा विदेशी नागरिक र नेपाली समेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान गर्ने भनि मन्त्रीस्तरको निर्णय भएको हुदाँ चार्टर उडान खुला गरिएकोे बताउनु भयो । यस्तै विदेश गएका युवाहरुलाई फर्किन दिने भन्ने विषयमा भने कुनै आधिकारिक निर्णय नभएको क्यानले जनाएको छ ।

विदेशी (भारतीय) नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, काठमाडौं हुदै साउदी अरब जान दिए सँगै सरकारकोे तीव्र आलोचना भएसँगै सरकारले नेपाली नागरिकको हकमा पनि अन्तराष्ट्रिय चार्टर उडान खुला गरेको हो । भारतीय नागरिकलाई साउदी अरबको यात्रामा प्रतिबन्ध लगाएसँगै उनीहरु साउदी अरब उड्नका लागि काठमाडौं आएका थिए ।

सरकारले मुलुकमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भए सँगै वैदेशिक रोजगारीका गन्तव्यमा अन्तराष्ट्रिय उडान ३१ मे सम्म रोक लगाएको थियो । यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले भने सरकारको उक्त निर्णयसँगै वैदेशिक रोजगारीमा जान चाहने युवाहरुलाई राहत मिल्ने बताएको छ । मन्त्रालयका प्रवक्ता दिपक काफ्लेले वैदेशिक रोजगारीमा जानका लागि भन्दै वैशाखसम्म करिब एक लाख (नयाँ/पुन गरी) ले श्रम स्वीकृति लिएको बताउनु भयो । मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुरुप वैशाख दोस्रो सातासम्ममा वैदेशिक रोजगारीमा जान भन्दै ६१ हजार ३ सय ४२ जनाले पुनः श्रम स्वीकृति र ३८ हजार ५१ जना (व्यक्तिगत र संस्थागत गरी) युवाहरुले नयाँ श्रम स्वीकृति लिनु भएको छ ।

यसअघि श्रम स्वीकृति लिएकै कारण युवाहरु चार्टर उडान मार्फत वैदेशिक रोजगारी खुला गर्न माग गर्दै आएका थिए । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर शुरु भइरहेको अवस्थामा मलेसिया र मध्यपूर्वका मुलुकहरुले भने नेपालीहरुको प्रवेशमा रोक लगाएको पाइदैन जसले गर्दा युवाहरु विदेश जान सक्ने अवस्था रहेको छ । यस्तै वैदेशिक रोजगार व्यवसायी संघले सरकारले लिएको निर्णय सकारात्मक भएको जनाएको छ ।

 

 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update