काठमाडौं, असार ९। पूर्व मिस नेपाल नम्रता श्रेष्ठ ‘मोडल हन्ट नेपाल’ मा आवद्ध हुनुभएको छ । उहाँ निर्णायकको रुपमा प्रतियोगितामा आवद्ध हुनुभएको हो । आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले श्रेष्ठ प्रतियोगितामा आवद्ध भएको जानकारी दिनुभयो । श्रेष्ठ २०२० की मिस नेपाल विजेता हुनुहुन्छ ।
प्रतियोगिताको अहिले सातौँ संस्करण सुरु चलिरहेको छ । प्रस्तुति, चर्चा र आयोजनाको दृष्टिले नेपाली मोडलिङ प्रतियोगितामा बृहत् र स्तरीय मानिएको यो प्रतियोगितामा १८ देखि २८ वर्ष उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्नुहुनेछ ।
उचित ज्ञानसहित देश तथा विदेशका प्लेटफर्ममा सजिलै अवसर पाउन सक्ने व्यवसायिक मोडल उत्पादन गर्ने उद्देश्यले विगत ७ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगितामा पछिल्लो समय युवायुवतीको आकर्षण समेत बढ्दो छ। ११ असार अर्थात २५ जुनबाट सुरु हुने प्रतियोगिताको छनौट चरणको अडिसन ९ जुलाईसम्म चल्नेछ । अडिसनबाट छानिएका प्रतियोगीले मात्र फाइनलमा सहभागी हुन पाउनुहुनेछ ।
प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा नगद पाँच लाख रुपैयाँ बराबरको उपहारसहित १ देखि १५ सेप्टेम्बर थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुहुनेछ ।
विजेताले विज्ञापन, म्युजिक भिडियो अभिनय अवसरको अलावा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन शोमा पनि सहभागीको अवसर प्राप्त गर्ने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिनुभयो ।