
काठमाडौं, असार १०। साताको अन्तिम कारोबार दिन आज शुक्रबार भने शेयर बजारको पहिरो थामिएको छ । अघिल्लो दिनहरुमा उच्च अंकले घट्दै आएको नेप्से आज शुक्रबार भने १३ दशमलव ७८ अंकले बढेर १८ सय ६२ दशमलव छ अंकमा पुग्न सफल भएको छ ।
यसैगरी सेन्सिटिभ पनि दुई दशमलव ८१ अंकले बढेर तीन सय ६४ दशमलव ९० अंकमा पुग्न सफल भएकोछ । आज दुई सय २३ वटा कम्पनीहरुको २२ हजार आठ सय ७४ पटकको कारोबारमा ३५ लाख ४१ हजार पाँच सय ३७ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम एक अर्ब १५ करोड १२ लाख आठ हजार ३१ रुपैयाँ पुग्न सफल भएको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये सामूहिक लगानी समुहको सूचक घटेर वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, निर्जीवन बीमा, जीनव बीमा, लघुवित्त सहितका १२ वटा समुहहरूको सूचक भने बढेका छन् ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये आज न्यादी ग्रुप पावर लिमिटेड, लिबर्टी इनर्जी कम्पनी, तारागाउँ रिजेन्सी होटल, मानुषी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य बढेका छन् भने मेगा म्युचुअल फन्ड १, घलेम्दी हाइड्रो पावर कम्पनी, आँधीखोला लघुवित्त वित्तीय संस्था, सामलिङ पावर लिमिटेड आदिको शेयर मूल्य भने घटेका छन् । यसैगरी बढी रकम कारोबार गर्न कम्पनीहरूको सुचीमा भने आज कुमारी बैंक, न्यादी ग्रुप पावर लिमिटेड, आँधीखोला लघुवित्त वित्तीय संस्था, अरुण भ्याली हाइड्रो पावर कम्पनी आदि परेका छन् ।