Kath khabar
बंगलादेशले बनायो ६ किलोमिटर लामो पुल, जसमा छन् माथि ६ लेनको सडक र तल रेलवे ट्र्याक


            ढाका, असार १२ । बंगलादेशको ढाकाबाट ४० किलोमिटर दक्षिणमा ६ किलोमिटर लामो पद्मा नदीमाथि पुल बनेको छ । आइतबार प्रधानमन्त्री शेख हसिनाले पद्मा पुलको उद्घाटन गर्नुभएको छ ।

करिब ४ अर्ब डलरको लागतमा निर्माण भएको ६.१५ किलोमिटर लामो पुलले गरिब दक्षिणपश्चिमी क्षेत्रलाई राजधानीसँग जोड्ने विज्ञहरू बताउँछन् । माथि ६ लेनको सडक र तल रेलवे ट्रयाक भएको यस पुलको निर्माणले बंगलादेशको व्यापार बृद्धि हुने, आवतजावतमा सहजता तथा बंगलादेशको अर्थतन्त्र पनि १.२३ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

बंगलादेशको यो सबैभन्दा लामो र चुनौतीपूर्ण पुललाई राष्ट्रियताको प्रतीक मानिएको छ। यो पुलले देशका दक्षिणपश्चिम क्षेत्रलाई मूलधारमा जोडेको छ । जसका कारण आवागमनमा सहजता, व्यापारमा उछाल र बंगलादेशको अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरिएको छ । सरकारका लागि यो पुल यति महत्त्वपूर्ण छ कि पूर्ण रूपमा सञ्चालनमा आएसँगै देशको कुल गार्हस्थ्य उत्पादनमा १.२३ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । ६.१५ किलोमिटर लामो र २१.६५ मिटर चौडाइको यो बहुउद्देश्यीय रेल-सडक पुल बंगलादेशको सबैभन्दा ठूलो र खतरनाक नदी मानिने पद्मा नदीमा बनेको हो।

२१ वर्षअघि प्रधानमन्त्रीले यस पुलको शिलान्यास गरेका थिए । त्यसयता यो पुलले धेरै आँधीको सामना गरिसकेको छ । यसका लागि विश्व बैंकले यसअघि १ अर्ब २० करोड डलर सहयोग गर्ने घोषणा गरेको थियो । तर निर्माणमा चरम भ्रष्टाचारको आरोप लगाउँदै करिब एक दशकअघि योजना रद्द गरिएको थियो । त्यसपछि बंगलादेशले आफ्नै पैसाले निर्माण गरेको हो । सात वर्षअघि निर्माण सुरु भएको पुलको निर्माण पूरा हुनु सपनाभन्दा कम छैन । अहिले त्यसमा सवारीसाधन मात्र आवतजावत सुरु हुनेछ । अर्को वर्ष मार्चदेखि रेलहरू सञ्चालन हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update