Kath khabar
कोरोना बीमामा ८ हजार फाइलमा तथ्यांक मिलेन, २ सय २७ वटा दोहोरो दाबी

काठमाडौं, जेठ ९ । कोरोना बीमामा अहिले ठूलो संख्यामा परेका दाबीमा तथ्यांक नमिलेको पाइएको छ । कोरोना बीमा दाबीको कागजातसँग इपिडियोमिलोजी तथा रोग नियन्त्रण महाशाखामा रहेको तथ्यांकसँग मेल नखाएको हुँदा यति ठूलो मात्राको दाबी अब के गर्ने भनेर अन्यौलता छाएको छ ।

यसै त अहिले बीमा कम्पनीहरुसँग दाबी बापतको रकम भुक्तान गर्नका लागि रकम छैन, त्यसमाथि कागजात नमिलेका फाइलहरु पनि ठूलो संख्यामा थुप्रेका छन् । बीमा कम्पनीहरुले सुरुवातमा कागजात मिलेका फाइलहरुको भुक्तान गर्ने र पछि मात्रै यस्ता फाइलका बारेमा के गर्ने भनेर निर्णय लिने बताउँछन् । किनभने दाबी परेका र कागजात मिलेका करिब २० हजार फाइलले अहिले पनि भुक्तान पाउन बाँकी छ ।

बीमा समितिका अनुसार अहिलेसम्ममा ९१ हजार ८ सय ५९ ओटा दाबी परेका छन् । ७ सय ६० ओटा भने स्वीकृतिको चरणमा रहेका छन् । त्यस्तै पाँच सय ४४ ओटा दाबीमा उमेर र नाम नमिलेर स्वीकृत हुन सकेको छैन । १ हजार ८८ ओटा दाबी भने कम्पनीबाट स्वीकृत भएर अब इपिडियोमिलोजी तथा रोग नियन्त्रण महाशाखामा जाने चरणमा रहेका छन् । २ हजार २ सय ३८ ओटा दाबी भने कागजात नपुगेका कारण कम्पनीमा नै फिर्ता भइसकेका छन् ।

कोरोेना बीमाको रकम भुक्तान गर्नका लागि बीमा कम्पनीहरुले बनाएको कोषमा सरकारले समयमै रकम नपठाउँँदा कम्पनीहरुले करिब २० हजार ३ सय ५ ओटा दाबी स्वीकृत गरेर पनि भुक्तान गर्न सकेका छैनन् । यता अर्थमन्त्रालयले दिनुपर्ने यस्तो रकमको लागि अहिलेसम्म कुनै प्रक्रियाँ नै अघि बढाएको छैन । रकम माग गर्दै बीमा समितिले अर्थमन्त्रालयमा पत्र पठाएको भने डेढ महिनाभन्दा बढी भइसकेको छ । कोरोनाको अहिले दोस्रो लहर फैलिएको छ । तर, पहिलो लहरमा नै संक्रमित भएका कैयनले अहिलेसम्म कोरोना बीमा वापतको दाबी रकम पाउन सकेका छैनन् ।

कागजात पुरा भएका  ७७ हजार १ सय ३ मध्ये अहिलेसम्म ५६ हजार ७ सय ९८ ओटा भुक्तान भइसकेको छ । जसको भुक्तानका क्रममा ५ अर्ब ४८ करोड ५८ लाख ५० हजार रकम भुक्तान भइसकेको छ । यो रकम मध्ये कम्पनीहरुले १ अर्ब, १ अर्ब पुनर्बिमा कम्पनी र १ अर्ब बीमा समितिले भुक्तान गरेको छ भने ५० करोड रकम बीमा कम्पनीहरुको जोखिम व्यवस्थापनबाट भुक्तान गरेको रकम हो ।

यसबाहेकको रकम भने अहिले बीमा कम्पनीहरुले आफ्नो कोषबाट कोरोना बीमा वापतको दाबी भुक्तानी गरेका छन् । अर्थमन्त्रालयले रकम दिएसँगै सोधभर्ना गर्नेगरि उनिहरुले अहिले आफ्नो कोषबाट दाबी वापतको रकम भुक्तान गरेका हुन् । यता अर्थमन्त्रालयमा भने यो रकम भुक्तानका लागि अहिलेसम्म कुनै प्रक्रिया नै अघि बढेको छैन  । जबकी बीमा समितिले ३ अर्ब माग गर्दै अर्थमन्त्रालयमा पत्र पठाएको डेढ महिना बितेको छ । समिति रकम आशमा रहेको भएपनि कहिलेबाट रकम भुक्तानी सुरु हुन्छ भनेर एकिन गरेर भन्न सक्ने अवस्थामा छैन ।

 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update