
काठमाडौं, असार १२। साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से झण्डै एक सय अंकले बढेको छ । आज नेप्से ९४ दशमलव ९२ अंकले बढेर १९ सय ५६ दशमलव ९८ अंकमा पुग्न सफल भएको छ । यसैगरी सेन्सिटिभ पनि १७ दशमलव ९३ अंकले बढेर तीन सय ८२ दशमलव ८४ अंकमा पुग्न सफल भएको छ ।
आज नेप्सेमा दुई सय २० वटा कम्पनीहरुको ४४ हजार तीन सय ४१ पटकको कारोबारमा ६३ लाख ६३ हजार पाँच सय ९० कित्ता शेयर किनबेच हुँदा कारोबार रकम दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार आठ सय ४९ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहको कारोबार भएको मध्ये वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा, लघुवित्त सहितका १३ वटै समुहहरूको सूचक बढेर नेप्से पुरै हरियो देखिएको छ ।
कारोबार भएका कुल कम्पनीहरू मध्ये आज विशाल बजार कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था, नागरिक लगानी कोष, ङादी ग्रुप पावर लिमिटेड, न्यादी हाइड्रो पावर लिमिटेड आदिको शेयर मूल्य बढेका छन् भने नेपाल इन्भेष्टमेन्ट बैंक ऋणपत्र, मितेरी डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था आदिको शेयर मूल्य घटेका छन् ।
यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरूको सुचीमा भने कुमारी बैंक, न्यादी ग्रुप पावर लिमिटेड, नागरिक लगानी कोष, महालक्ष्मी विकास बैंक आदि परेका छन् ।