Kath khabar
दक्षिण अफ्रिकाको रात्रिकालीन क्लबमा १७ जना मृत फेला परे

        दक्षिण अफ्रिका, असार १२।  दक्षिण अफ्रिकाको इस्ट लन्डन सहरको एउटा रात्रिकालीन क्लबमा कम्तीमा १७ जनाको शव फेला परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ती शवहरू आइतवार सबेरै फेला परेका थिए र कैयौँ अरू घाइते भएको हुनसक्ने ठानिएको छ। समाचारहरू अनुसार मृतकको शव उनीहरूका आफन्तलाई पनि हेर्न दिइएको छैन।

‘हामीले पूर्वी लन्डनमा रहेको सिनरी पार्कमा रहेको स्थानीय क्षेत्रमा १७ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त गरेका छौँ’। प्रान्तीय प्रहरी प्रमुख ब्रिगेडियर थेम्बिन्कोसी किनानाले उक्त जानकारी दिनुभएको छ । घटनाको वरिपरिको परिस्थितिबारे अझै अनुसन्धान गरिरहेको पनि उहाँले बताउनु भएको छ । यद्यपी अझै पनि यस समाचारको विस्तृत विवरण भने प्राप्त नभएको जनाइएको छ । 

उक्त क्लबलाई बन्द गर्न स्थानीयहरूले माग गरेका छन्। इस्ट्रेन केपको उक्त घटनास्थलमा ठूलो सङ्ख्यामा आपत्कालीन सुरक्षा कर्मचारीहरू खटाइएका छन्। घटनास्थलमा रहेकी इस्ट्रन केपका पुलिस कमिस्नरले उक्त रात्रिकालीन क्लबमा भागदौड मच्चिएको आरोप लागेको जनाएकी छन्। मृतकहरूको मृत्युको कारण पनि प्रस्ट छैन।

स्थानीय सञ्चारमाध्यमहरूले विषालु पदार्थ वा भागदौडका कारण त्यसो भएको हुनसक्ने आकलन गरेका छन्। इन्योबेनी टाभर्नभित्र खिचिएका तस्बिरहरूमा शवहरू भुईँ र टेबलमा रहेको देखिए पनि चोटको कमै सङ्केत देखिएका छन्। विस्तृत विवरण अझै आइरहेका छन्।
 

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update