काठमाडौं, असार १३। स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आई.एम.ई लाइफ इन्स्योरेन्स कं. लि. ले एक प्रेस विज्ञप्ति जारी गरी आईएमई बालकिरण जीवन बीमा योजना बिमितहरुमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य सङ्ख्यामा बिक्री हुने बीमालेख भएको सार्वजनिक गरेको छ ।
बच्चाको जन्म लगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिकालागि अधिकतम जोखिम रक्षावरण सहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बीमा रकम फिर्ता हुँदै आउँछ । यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरूलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुँयालले उक्त विज्ञप्ति मार्फत बताउनुभयो ।
खासगरी अभिभावक तथा नव अभिभावकहरूको लागि अत्यन्त उपयुक्त तथा सहज यस बीमा योजनामा आफ्नो आवश्यकता अनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बिरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने जानकारी पनि उहाँले दिनुभयो ।