Kath khabar
राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने


          काठमाडौं, असार १३। नेपाल राष्ट्र बैकले भोलि मंगलबार पुन १५ अर्ब रुपैयाँको विकास ऋणपत्रको बिक्री खुल्ला गर्ने भएको छ । सो दिन पाँच वर्षे अवधिको विकास ऋणपत्र २०८४ “ज” (५ वर्षे) बोलकबोलको माध्यमद्वारा बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, तथा वित्तीय संस्था, गैर-बैक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्ने छन् । ऋणपत्र खरिदको लागि मंगलबार अपरान्ह तीन बजेसम्म बोलकबोल पेस गरिसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ। निष्कासन मिति २०७९ असार १५ गते तोकिएको ऋणपत्रको सावाँ भुक्तानी मिति २०८४ असार १५ तोकिएको छ । खरिद गरिएको उक्त ऋणपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाइने छ । खरिद गरिएको ऋणपत्रमा अर्धवार्षिकरूपमा व्याज भुक्तानी हुुने र आर्जित ब्याजदरमा ब्याजकै समेत लाग्ने छ ।

खरीदकर्ता प्रतिस्पर्धी वा  अप्रतिस्पर्धीरुपमा सहभागी हुनसक्ने र बिक्री गरिने कुल ऋणपत्र मध्येमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी बहालवालाहरूलाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् १२ अर्ब ७५ करोड र दुई अर्ब २५ करोड छुट्ट्याइएको छ । खरीद गर्न पाउने सीमा घटीमा ५० हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अङ्कसम्म खरिद गर्न सकिने राष्ट्र बैंकको भनाई छ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रिया अन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यि बाहेकका वाणिज्य बैंक, विकास बैक र फाइनान्स कम्पनीहरूले भने अप्रतिस्पर्धीको भाग लिन पाउने छैनन् ।


 

 

प्रकाशित मिति: सोमबार, असार १३, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update