ललितपुर, असार १३। जाउलाखेलस्थित क्लिनिक वानले एकदिने पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । पुरुष प्रजनन स्वास्थ्य समस्या समाजमा व्याप्त हुँदा पनि यसका लागि परामर्श लिन जाने पुरुषहरूको संख्या निकै कम भएकोले यस समस्यालाई सम्बोधन गर्न तथा जून महिनालाई पुरुष स्वास्थ्य महिनाको रुपमा मनाउन क्लिनिक वान जाउलाखेलमा पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको जनाएको छ । स्वास्थ्य शिविरमा नेपालकै पहिलो पुरुष प्रजनन स्वास्थ्य (एन्ड्रोलोजीमापि. एच. डी) गरेका डा. गौरव पोख्रेलद्धारा सेवा प्रदान गरियो ।
डा. गौरव पोख्रेलले नेपालमा बाझोपन सम्बन्धी समस्या भएका धेरै व्यक्तिहरूलाई कुन डाक्टरसँग परामर्श लिने भन्नेबारे जानकारी नभएको बताउनुभयो । शिविरमा आएका बाझोपन सम्बन्धी समस्या भएका बिरामीहरूले मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिने गरेको उहाँले बताउनुभयो। साथै शिविरमा आएका नवयुवाहरुलाई शीघ्र स्खलन तथा धेरै हस्तमैथुन गर्दा हुँदा नपुंसकता हुन्छ कि ? भन्ने जस्ता जिज्ञासा भएको जानकारी उहाँले दिनुभयो ।
त्यस्तै उहाँले स्वास्थ्य शिविरमा आएका धेरै व्यक्तिहरूलाई आफूलाई नपुंसकता रहेको/नरहेको डर भएको बताएको जानकारी दिनुभयो । नेपालमा अझै पनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी ज्ञानको कमी छ, त्यसैले भविष्यमा अझै पनि पुरुष प्रजनन स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्न आवश्यक छ, डा. गौरव पोख्रेलले जानकारी दिनुभयो ।
आयोजक क्लिनिक वानका सीईओ रघु रानाले समाजमा अझै पनि पुरुष प्रजनन स्वास्थ्यको बारेमा खुला रुपमा कुरा नगर्ने र पुरुष प्रजनन स्वास्थ्यको बारेमा खुलेर कुरा गर्न प्रोत्साहन गर्नका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको बताउनुभयो । शिविरमा आएका पुरुषहरूको गोपनियतालाई मध्यनजर गर्दै डाक्टर परामर्शमा भएका कुरालाई गोप्य राख्ने व्यवस्था मिलाएको क्लिनिक वानका सीईओ रानाले जानकारी दिनुभयो । त्यस्तै उहाँले क्लिनिक वानले भविष्यमा पनि विभिन्न स्वास्थ्य सम्बन्धी शिविर सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।