काठमाडौं, असार १५। काठमाडौं गौशाला चोकमा एउटै नम्बरको दुई वटा मोटरसाइकल देखिएपछि ट्राफिक प्रहरीले अनुसन्धान थालेको छ । बुधबार एउटै नम्बरको दुई वटा मोटरसाइकल एकैठाउँमा भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
तस्विर लिने व्यक्तिले बुधबार बिहान गौशाला चोकमा ट्राफिक जाममा परिरहेको बेलामा आफूभन्दा अगाडि एउटै नं. को दुईवटा मोटरसाइकल देखेपछि उक्त तस्विर खिचेका थिए । दुवै मोटरसाइकलमा बागमती प्रदेश ०२ ०२२ प २३८० को एउटै नम्बर थियो । प्रहरीको खोजी कार्यपछि सक्कली नम्बरको बाइक फेला परेको र नक्कली बाइकको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
तस्वीरको बायाँतर्फ देखिएको बजाजको पल्सर मोटरसाइकलको लागि सो नम्बर जारी भएको तर बजाजकै एनएस मोटरसाइकलले पनि सोही नम्बर जडान भएको देखिएकोले तुरुन्त पक्राउ गरी ल्याउन गुर्जुधारास्थित यातायात कार्यालय (मोटरसाइकल) ले प्रहरीलाई पत्राचार गरिसकेको कार्यालयका प्रमुखले जानकारी दिनुभएको छ ।