
ललितपुर, असार १६। काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान गरी आजबाट सञ्चालनमा आएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालय र तन्त्र भेन्चर्स प्रा.लि.सँग समन्वय र सहकार्य गरी उक्त नयाँ ट्राफिक लाइट जडान गरि संचालनमा ल्याएको हो ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले उक्त नयाँ ट्राफिक लाइटको स्विच अन गरी उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्नुहुदै एसएसपी जोशीले प्रविधिको विकासले फड्को मार्दै गर्दा ट्राफिक प्रहरीको सेवामा पनि यात्रुमैत्री प्रविधिको विकास र प्रयोगलाई प्राथमिकता दिदै आएको बताउनुभयो । “उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज, व्यवस्थित एवं चुस्त बनाउन तथा प्रविधिको प्रयोग गरी थोरै जनशक्तिबाट धेरै काम लिन विभिन्न प्रविधिमैत्री अभियान थालिएको छ ।” जोशीले भन्नुभयो:-“प्रविधिमार्फत सडक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरूको आवागमन सहज हुनुका साथै सडक अनुशासन र सडक सभ्यता झल्किने हुनाले यसलाई प्रमुख प्राथमिकता दिएको छ ।
कार्यक्रममा बोल्नुहुदै ललितपुर महानगरपालिका वडा नं. ३ कार्यालयका वडा अध्यक्ष गोपाल महर्जनले ट्राफिक लाइट जडानबाट आम सेवाग्राहीले प्रत्यक्ष लाभ हुने कुरामा जोडिन पाउँदा हर्षित रहेको र सडकलाई यात्रुमैत्री बनाउन ट्राफिक प्रहरीले आधुनिक प्रविधिको प्रयोग र सवारी व्यवस्थापनमा सक्रियता बढाएको भुमिकाको प्रशंसा गर्दै आगामी दिनहरूमा समेत ट्राफिक प्रहरीसँग अझै सहकार्य गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा वडा कार्यालयका प्रतिनिधिहरू, ट्राफिक प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । हाल उपत्यकाको मुख्य ४० चोकहरूमा ट्राफिक लाइटबाट सवारी व्यवस्थापन हुँदै आएको छ भने १३ स्थानमा परिक्षण गरी सञ्चालनको प्रकियामा रहेको र सात स्थानमा जडान कार्य भइरहेको छ । ट्राफिक लाइट सञ्चालनमा आएका चोकहरुमा ट्राफिक लाइटको पूर्ण पालना गरि ट्राफिक व्यवस्थापन सहयोग गरिदिनु हुन सम्पूर्ण सवारी चालक तथा पैदलयात्रीहरूलाई ट्राफिक कार्यालयले विशेष अनुरोध समेत गरेको छ ।