काठमाडौं, असार १७ । काठमाडौं महानगरपालिकाभित्रका सडक, गल्ली, पार्क, सवारी विसौनीस्थल, सरकारी कार्यालय या कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न नपाइने भएको छ। काठमाडौं महानगरपालिकाले सार्वजनिक सुचना प्रकाशित गर्दै महानगर क्षेत्रभित्रका स्थानहरुमा भिक्षा माग्न निषेध गरिएको जानकारी दिएको हो ।
सूचनामा साधु , सन्त , जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार सांस्कृतिक कार्यका लागि भिक्षा माग्न रोक नहुने स्पष्ट पारिएको छ । यस्तै बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम वा ज्याला दिई भिक्षा माग्न वा माग्न दुरुत्साहन नगर्न तथा नगराउन काठमाडौँ महानगरपालिका नगर सभा १९औं अधिवेशनबाट स्वीकृत नीति समेतका आधारमा यो सूचना प्रकाशित गरिएको छ ।
असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भिख माग्न नपाउने महानगरको सूचनामा उल्लेख छ । सडकमा रहेका व्यक्तिका लागि काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गरिने महामनगरको भनाइ छ । आश्रमको सेवा आवश्यक परेमा महानगर वा आश्रममा सम्पर्क गर्न पनि सूचनामा अनुरोध गरिएको छ ।
दश दिनभित्र सूचनाको उल्लंघन गर्दै भिख मागेमा कानुन अनुसार कारबाही जनाउदै महानगरले सूचनामा अनुरोध गरेको छ, 'सूचनाको उल्लंघन गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अध मंहिता २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सूचित गरिन्छ ।