काठमाडौं, असार १७ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड ‘केयूकेएल’ले वितरण गर्दै आएको खानेपानीमा हैजा र झाडापखालाको जीवाणु भेटिएको छ । पुनः प्रयोग हुने पानीको जार पनि राम्ररी सफा नगरिएका कारण त्यसमा पनि जीवाणु फेला परेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले डिल्लीबजार, बागबजार, बल्खु, बालाजु, त्रिपुरेश्वर, चन्द्रागिरिलगायत ठाउँका पानीको नमुना परीक्षण गर्दा पानी सिधै पिउन योग्य नरहेको भेटिएको हो ।
पानीमा दिसाजन्य जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केयूकेएललाई पानी शुद्ध पार्न प्रयोग गरिने क्लोरिनको मात्रा बढाउन निर्देशन दिएको छ । नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि स्वास्थ्य कार्यालयले केही दिनदेखि अनुगमनलाई तिब्रता दिएको छ । स्वास्थ्य कार्यालयले आज पनि अनुगमन गर्दैछ ।
काठमाडौं उपत्यकामा हालसम्म १४ जनालाई हैजा पुष्टि भइसकेको छ । उपत्यकामा हैजा फैलने जोखिम उच्च रहेकाले यसको रोकथामका लागि जार तथा बोतलको पानी उमालेर वा शुद्धीकरण गरेर मात्रै पिउन तथा स्वथ्य खानेकुरा मात्रै खान स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।