काठमाडौं, जेठ ९ । कोभिड संक्रमणबाट बच्नको लागि सरकारले गरेको निषेधाज्ञामा पनि राष्ट्रिय गौरवको आयोजना निर्माण कार्यले निरन्तरता पाएको छ । राष्ट्रिय योजना आयोगले अप्ठ्राका बीच पनि उपलब्ध स्रोत, साधनको प्रयोग गरी गौरवका आयोजनाहरु निर्माण कार्यलाई निरन्तरता दिइएको जानकारी दिएको छ ।
आयोगका अधिकारीका अनुसार निषेधाज्ञाका कारण आयोजनामा पर्याप्त जनशक्ति तथा उपकरणको अभाव कारण तीव्रताका साथ काम अघि बढ्न नसके पनि पूर्ण ठप्प भने भएको छैन त्यसैले गर्दा आयोजनामा काम गर्ने धेरै जनशक्ति स्वदेशीहरु नै रहेका छन् यसैबीच आयोगले विवादस्पद आयोजनाहरुको काम भने अघि बढ्न नसकेको जानकारी दिएको छ । विवाद कै कारण बुढीगण्डकी आयोजना, निजगढ विमानस्थल लगायतका आयोजना लगायतका आयोजना अघि बढ्न सकेका छैनन् ।
बुढीगण्डकी आयोजना मुआब्जा विवादको कारण रोकिएको थियो भने निजगढ् विमानस्थलको रुख कटानको मुद्धा सर्वोच्च अदालतमा विचाराधीन रहेको छ । यसैबीच शतप्रतिशत भौतिक प्रगति भएको माथिल्लो तामाकोशीको परिक्षणको कामले भने निरन्तरता पाएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले निषेधाज्ञामा परिक्षणको कामलाई निरन्तरता दिएको बताउनु भएको छ । उपलब्ध जनशक्तिमार्फत् परिक्षणको काम गरिरहेका आयोजनाले जनाएको छ ।
यता नेपाल नागरिक उडडयान प्राधिकरणले गौरवका आयेजनाहरु मध्ये भैरहवामा निर्माणधीन गौतमबुद्ध विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थलको काम भने सुचारु रहेको तथा निजगढ विमानस्थल निर्माण कार्य अघि बढ्न नसकेको जनाएको छ । गौतमबुद्ध र पोखरा क्षत्रीय विमानस्थलका काम निषेधाज्ञामा समेत अघि बढेको हुदाँ ती विमानस्थलहरुको भौतिक प्रगति भइरहेको प्राधिकरणका अधिकारीहरुको भनाई रहेको छ ।
गौरवका आयोजना मध्ये पोखरा क्षेत्रीय विमानस्थलको भौतिक प्रगति भने ७५ प्रतिशत रहेको छ । निषेधाज्ञामा आयोजना भित्र तीन सय जना नेपाली कामदारहरुले आयोजना भित्र सडक मार्ग, पहुँच मार्ग, ड्रैन लगायतका अन्तिम चरणका कामहरु गरिरहेको बताइएको छ । यस्तै चिनियाँ प्राविधिक नआउदा उपकरण जडान लगायतका काम भने हुन नसकेको जानकारी दिइएको छ । यस्तै पछिल्लो समय मेलम्चीको पानी उपत्यकामा वितरण भएको पाईन्छ । भौतिक प्रगति शतप्रतिशत नभएको खण्डमा पनि मेलम्चीको पानी भने प्रयोग भइसकेको पाईन्छ ।
यस्तै विवादित काठमाडौं तराई (मधेश) द्रुतमार्ग निर्माण कार्यले पनि पछिल्लो समय तीव्रता पाएको छ । सेनाले विवाद अन्त्य भए सँगै दोस्रो प्याकेज लगायतका काम जारी राखेको जानकारी दिएको छ । मुलुकभर रहेका २४ वटा गौरवका आयोजनाको निर्माण कार्य भने तोकिए कै समयमा कुनै पनि भएको छैन भने नाकाबन्दी, बन्द हडताल तथा पछिल्लो वर्ष देखि देखिएको कोरोना संक्रमणका कारण आयोजनाहरु थप प्रभावित बनेको पाईन्छ ।
यता द्रुतमार्ग दोस्रो प्याकेजअन्तर्गत मकवानपुरको धोन्द्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँषस्थित घटेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर गरी दुईवटा सुरुङमार्ग र पुल निर्माण पर्दछ । द्रुतमार्गको ७४ प्रतिशत भन्दा बढी भौतिक प्रगति रहेको द्रुतमार्ग निर्माण कार्यले निरन्तरता पाउन सकेको छ। यस्तै पशुपति क्षेत्र विकास कोष, उत्तर दक्षिण (कोशी) लोकमार्ग, उत्तर दक्षिण (काली गण्डकी कोरिडोर), रेल्ले तथा मेट्रो विकास लगायतका आयोजनाहरु भने अघि बढ्न नसकेको पाइन्छ ।
यस्तै सुनकोशी मरिन डाइभर्सन अयोजना, सिक्टा सिँचाइ आयोजना, लुम्बिनी विकास कोष, हुलाकी राजमार्ग, बबई डाइभर्सन बहुउद्देशीय लगायतका गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक रहेको बताइएको छ । निषेधाज्ञा अघि सुनकोशी, सिक्टा, लुम्बिनी लगायतका आयोजनाहरुको भौतिक प्रगति ८० प्रतिशत भन्दा माथि रहेको थियो ।