
काठमाडौं, असार १७। सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौँ संस्करणको अनलाइन नोमिनेसन (आवेदन) आज जुलाई १ देखि शुरु भएको छ ।
लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ को नोमिनेसन आज शुक्रबारदेखि सुरु भएको हो । सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिष्कृत र विस्तारित रुपमा आयोजना हुँदै आइरहेको छ ।
आइसिटी अवार्ड २०२२ को लागि विभिन्न ११ विधाहरूमा नोमिनेसन खुल्ला गरिएको र अनलाइन नोमिनेसन साउन ३१ गतेसम्म जारी रहने आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । उनका अनुसार, आइसिटी अवार्डमा प्रतिस्पर्धी आफै वा अन्य कसैले अनलाइन नोमिनेसन दर्ता गर्न सक्नेछन् ।
आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनाले मंसिरमा आयोजना हुनेछ । यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढि चरणका छनौट प्रकृयालाई अगाडि बढाउनेछ । १२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा प्रिजेन्टेसन, स्पिड डेटिङ, पब्लिक भोटिङ लगायत उत्कृष्ट ५ को लागि फिल्ड भिजिट समेत सञ्चालन हुनेछ । यस वर्ष २५ भन्दा बढि जुरी मिटिङ सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
यस वर्ष नोमिनेसन खुल्ला गरिएको ११ विधाहरुमा स्टार्टअप आइसिटी अवार्ड, प्रोडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्ट तथा इनोभेसन सम्बन्धित विधाहरु रहेका छन् । आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यक्तिहरूलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् ।
यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।
यस वर्ष आयोजकले गत चैत र जेष्ठ महिनामा सातौ प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम आयोजना गर्दै प्रदेश स्तरीय उत्कृष्ट स्टार्टअपहरु छनौट गरिएको आयोजक समितिका अध्यक्ष लम्सालले बताए । ११ विधा बाहेक हरेक प्रदेशका उत्कृष्ट स्टार्टअपहरुले ग्राण्ड फिनाले कार्यक्रममा सम्मान प्राप्त गर्नेछन् । यसैगरी अन्तराष्ट्रिय स्तरलाई पनि लक्षित गरेर केही समय पश्चात कुनै एक विधा घोषणा गरिने आयोजकले जनाएको छ ।
यसैगरी काठमाडौंमा सातै प्रदेशबाट छनौट भएको ४० बढि स्टार्टअप र अवार्डबाट तेस्रो चरणमा छनौट हुने दर्जनौँ स्टार्टअपहरुको विशेष सेसन ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ काठमाडौंमा पनि सञ्चालन हुनेछ । गत वर्ष आयोजना भएको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ मा विभिन्न १२ विधामा अवार्ड प्रदान गरिएको थियो । गतवर्ष स्टार्टअप आइसिटी अवार्ड खेतीले प्राप्त गरेको थियो भने प्रोडक्ट आइसिटी अवार्ड प्राप्त गरेको थियो । मुशुरले राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड २०२१ प्राप्त गरेको थियो ।
मनोहर भट्टराई, विनय बोहोरा, प्रसन्न ढुंगेल र गुण केशरी प्रधानले क्रमश पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१ प्राप्त गरेका थिए । भूमि व्यवस्थापन विभाग, नेपाल क्लियरिङ हाउसले गतवर्ष क्रमश डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस अवार्ड प्राप्त गरेका थिए । यसैगरी कालिका मानवज्ञान र रातो बंगला स्कुलले डिजिटल एजुकेसन आइीसटी अवार्ड पब्लिक र प्राइवेट सेक्टरको अवार्ड प्राप्त गरेका थिए । आइसिटी अवार्ड २०२१ मा ५०० सयभन्दा बढीको अनलाइन आवेदन प्राप्त भएको थियो ।
आयोजकले वुधवार आयोजना गरेको छलफल कार्यक्रममा सल्लाहकार र जुरी समितिले अवार्ड अझ उत्कृष्ट बनाउनको लागि सुझावहरु दिएका थिए । आइसिटी अवार्ड नेपालको प्रविधि क्षेत्रमा नयाँ आइडिया र स्टार्टअपदेखि विशिष्ट योगदान दिएका व्यत्ति र सस्थाहरुलाई सम्मान गर्ने महत्वपुर्ण कार्यक्रमको रुपमा स्थापित भएको र यसले सबैको विश्वास जितेको सल्लाहकार तथा योजना आयोगका सदस्य डा. रामकुमार फुयालले उक्त छलफल कार्यक्रममा बताए । यसैगरी जुरी समितिका शुसिल पोखरेलले नेपालमा आयोजना हुने अवार्डहरु मध्ये आइसिटी अवार्डको छुट्टै चार्म रहेको र यसले स्टार्टअप र इन्नोभेटरहरुको लागि महत्वपुर्ण प्लाटफर्मको विकास गरेको बताए ।
अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् ।
यि हुन आइसिटी अवार्ड २०२२ का ११ विधाहरु
आइसिटी अवार्ड २०२२ मा ११ विधामा अनलाइन नोमिनेसन खुल्ला गरिएको छ । नोमिनेसन दर्ता गर्न आधिकारिक वेबसाइट ictaward.org मा गएर विधा (क्याटेगोरी) छनौट गरी आवश्यक अनलाइन फारम बुझाउनुपर्नेछ । आवदेनको समयअवधि यहि साउन ३१ सम्म रहेको छ ।
१. स्टार्टअप आइसिटी अवार्ड
आइटी प्रडक्ट, सर्भिस तथा इनोभेसन क्षेत्रमा काम गरिरहेका कम्पनीहरूलाइ प्रवद्र्धन र प्रोत्साहन गर्ने यो अवार्डमा सहभागी हुन नेपालको प्रचलित कानून अनुसार कम्पनी दर्ता भएर सञ्चालनमा रहेको हुनुपर्नेछ । यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्नेछन् ।
२. प्रोडक्ट आइसिटी अवार्ड
आइसिटी प्रोडक्ट अवार्डमा कुनै नेपाली कम्पनी, संस्था, समूह वा व्यक्तिले विकास गरेको आइटी तथा इन्नोभेटिभ प्रडक्टलाई नोमिनेसन दर्ता गराउन सकिनेछ । वि.स २०७८ सालमा सार्वजनिक भएका आइटी प्रडक्टहरूलाई लिएर यस विधामा नोमिनेसन दर्ता गर्न सकिन्छ ।
३. राइजिङ स्टार इनोभेसन आइसिटी अवार्ड
राइजिङ स्टार इनोभेसन आइसिटी अवार्डमा कलेज तथा विश्वविद्यालयका विद्यार्थीहरू तथा ३० वर्ष मुनिका युवाले तयार गरेका रिसर्च, इनोभेसन तथा प्रोजेक्टहरूलाई लिएर नोमिनेसन दर्ता गर्न सकिनेछ ।
४. पायोनियर आइसिटी अवार्ड
यो अवार्ड सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विशिष्ट योगदान दिएका अग्रज व्यक्तिलाइ प्रदान गरिन्छ । यस विधामा आफै वा अरु कसैले योग्य व्यत्तिको नाममा नोमिनेसन दर्ता गर्न सकिनेछ ।
५. नेपाली डायस्पोरा आइसिटी अवार्ड
नेपाली मूलका व्यक्ति, जो विदेशमा बसेर पनि देशको सूचना प्रविधिको क्षेत्रमा दिइरहेको योगदानलाई उच्च कदर गर्दै यो अवार्ड दिइनेछ । यस विधामा आफु वा अन्य कसैले योग्य व्यत्तिको नाममा नोमिनेसन दर्ता गर्न सकिन्छ ।
६. आन्टरप्रेनर आइसिटी अवार्ड
आन्टरप्रेनर आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली उद्यमीलाई दिइनेछ । यस विधामा आफु वा अन्य कसैले योग्य व्यत्तिको नाममा नोमिनेसन दर्ता गर्न सकिन्छ ।
७. वुमन आइकन आइसिटी अवार्ड
वुमन आइकन आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रमा क्रियाशील नेपाली महिलाहरूका लागि लक्षित छ । यस विधामा आफु वा अन्य कसैले योग्य व्यत्तिको नाममा नोमिनेसन दर्ता गर्न सकिन्छ ।
८. डिजिटल एजुकेसन आइसिटी अवार्ड (पल्लिक सेक्टर)
डिजिटल एजुकेसन आइसिटी अवार्ड शिक्षा क्षेत्रलाई डिजिटल तथा प्रविधिमैत्री बनाउन प्रोत्साहन गर्ने उद्देश्यले सरकारी तथा सामुदायिक शैक्षिक संस्थानलाई प्रदान गरिन्छ । यस विधामा संलग्न व्यत्ति वा अन्य कसैले योग्य शैक्षिक संस्थाको नाममा नोमिनेसन दर्ता गर्न सकिन्छ ।
९. डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइवेट सेक्टर)
यस वर्ष निजी क्षेत्रका शैक्षिक संस्थाहरूलाई पनि प्रोत्साहन गर्ने उद्देश्यले डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) विधा थपिएको छ । यस विधामा संलग्न व्यत्ति वा अन्य कसैले योग्य शैक्षिक संस्थाको नाममा नोमिनेसन दर्ता गर्न सकिन्छ ।
१०. डिजिटल गभर्नेन्स आइसिटी अवार्ड
यस विधामा सरकारी सेवा तथा सुविधालाई डिजिटलिकरण गर्र्दै नागरिकलाई प्रविधिमैत्री सेवा दिन सफल सरकारी सस्था, निकाय, विभाग वा पालिकाहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् । यस विधामा संलग्न व्यत्ति वा अन्य कसैले योग्य सरकारी संस्थाको नाममा नोमिनेसन दर्ता गर्न सकिन्छ ।
११. डिजिटल सर्भिसेस आइसिटी अवार्ड
यस विधामा निजी क्षेत्रका संस्था, लिमिटेड वा सर्वसाधारणलाई डिजिटल सेवा दिइरहेका कम्पनीहरूले नोमिनेसन दर्ता गर्न सक्नेछन् । यसै वर्ष थपिएको यस विधामा आइटी तथा सफ्टवेयर कम्पनीहरू बाहेक अन्य सेवामूलक निजी क्षेत्रका कम्पनीहरू यसमा सहभागी हुन सक्नेछन् । यस विधामा संलग्न व्यत्ति वा अन्य कसैले योग्य शैक्षिक संस्थाको नाममा नोमिनेसन दर्ता गर्न सकिन्छ ।