काठमाडौं, असार १९। नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जित्नुभएको छ । शनिवार काठमाडौंस्थित सोल्टी होटेलको प्रीभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उहाँले उपाधि हासिल गर्नुभएको हो ।
उपाधिका लागि भाइबरसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई भिड्नु भएको थियो । उपाधि विजेता भाइबरले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बिमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका जित्नुभएको छ । त्यस्तै दोस्रो भएका जेनिसले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाउनुभएको छ भने तेस्रो भएका बाबु बिलिभरले एक लाख नगदसँगै विश्व भ्रमण गर्ने मौका जित्नुभएको छ ।
आठ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले पाँच सय जनालाई भौतिक अडिसनको लागि छान्नुभएको थियो । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौँमा भएको थियो। भौतिक अडिसनबाट निर्णायकले उत्कृष्ट १७ छानेर त्यसलाई पनि उत्कृष्ट १२ मा झारेका थिए । त्यसपछि भने हप्तामा १–१ जना गर्दै शो बाट प्रतिस्पर्धीहरू बाहिरिएका थिए ।
शो को निर्णायक गिरिस खतिवडा, मानस घले र बालेन शाह हुनुहुन्छ । साथै ‘नेपहपको श्रीपेच’ को सफलता सँगै यस समूहले नयाँ ब्याटल शो ‘ब्याटल भूमि’ को घोषणा गरिसकेका छन् ।