चितवन, असार १९ । चितवन राष्ट्रिय निकुञ्जका १७ गैँडा मारेपछि अदालतबाट १५ वर्ष कैद सजाय भोगेका बमबहादुर प्रजाले जेलबाट छुटेपछि थप ४ गैँडा मारेको पाइएको छ । जेलपछि छुटेपछि उनी पुनः गैँडा शिकार र खाग तस्करीमा संलग्न रहेको अनुसन्धानका क्रममा खुलेको हो । प्रजा २०६० सालमा पक्राउ परेका थिए । १५ वर्ष काराबासको सजाय पछि उनी २०७५ मा रिहा भएका थिए । त्यति बेला उनले १७ गैँडा मारेको स्वीकार गरेका थिए । जेलबाट छुटेपछि पनि गैँडा मार्न सक्रिय प्रजालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार राति धादिङको मलेखुबाट पक्राउ गरेको छ ।
सिआईबी प्रमुख उत्तम सुवेदीले प्रजालाई पक्राउ गरी चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको जानकारी दिनुभयो । विसं २०७७ कात्तिकमा चितवन राष्ट्रिय निकुञ्जको नारायणी नदीको टापुमा २०-२२ वर्षको माउ गैँडा र ३ वर्षको बच्चा मृत भेटिएको थियो । ती दुवै खाग झिकिएको अवस्थामा भेटिएका थिए । त्यसपछि चितवन राष्ट्रिय निकुञ्जले चलाएको स्वीप अप्रेसनका क्रममा थप २ गैँडा पनि खाग झिकिएको अवस्थामा मृत भेटिएका थिए । ती ४ वटै गैँडाको शिकार प्रजाको योजनामा भएको अनुसन्धानबाट खुलेको बताइएको छ ।
५ वर्ष अघि गैंडाको चोरी सिकारीमा संलग्न सबैजसो पक्राउ परेपछि चितवन राष्ट्रिय निकुञ्ज र प्रहरी अधिकारीलाई लागेको थियो, अब गैंडाको चोरी सिकारी बन्द हुनेछ । केही वर्ष चोरी सिकारीका घटना शून्यप्रायः नै भयो । तर, ०७७ कात्तिकमा चितवनको बाँदरझुला क्षेत्रमा एकैपटक ४ गैंडा मृत अवस्थामा भेटिए । २०, २१ र २२ कात्तिकमा खाग झिकिएका गैंडा मृत अवस्थामा भेटिएका थिए । यो घटनाले गैंडाको चोरी सिकारीमा नयाँ समूह सक्रिय रहेको हुन सक्ने प्रहरी आशंका थियो, तर अनुसन्धानमा फरक निष्कर्ष आयो । गैंडाकै चोरी सिकारीमा १५ वर्ष जेल बसेर छुटेका व्यक्तिहरू त्यसमा संलग्न थिए
चितवनको कालिका नगरपालिकाका स्थानीय रामकुमार प्रजा र बमबहादुर प्रजाले त्यसरी गैंडा मारेका थिए । चोरी सिकारी समूहका नाइके उनीहरू घटनाको २० महिनापछि बल्ल पक्राउ परेका छन् । यसअघि राजकुमार १० र बमबहादुर १५ वर्ष ३ महिना जेल बसेर छुटेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी श्याम कुमार महतोका अनुसार यसअघि पनि उनीहरू गैंडाको चोरी सिकारीमै जेल परेका थिए । पेसेवर सिकारी रहेका दुवैले अभियोग स्वीकार गरेका छन् । पक्राउ परेका रामकुमार तिनै व्यक्ति हुन्, जसका दाइ राजकुमार प्रजाले चितवनमा २८ वटा गैंडा मारेका थिए । उनलाई इन्टरपोलको सहयोगमा नेपाल प्रहरीले। मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएकोमा हाल कारागारमा छन् ।
पछिल्लो ३ वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा १४ वटा गैंडाको चोरी सिकारी भएको र त्यसमा बमबहादुर र रामकुमारको संलग्नता आशंका निकुञ्जका अधिकारीको छ। उनीहरू चितवनमा गैंडाको चोरी सिकारीमा संलग्न पेसेवर समूहका मुख्य व्यक्ति मध्ये भएको सिआइबीका एक प्रहरी अधिकारी बताउँछन् । ४ वटा गैंडाको चोरी सिकारी सम्बन्धी सो मुद्दामा यसअघि नै ४२ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । त्यसमध्ये १४ जना अझै फरार छन् । फरारहरूको खोजी गर्ने क्रममा सिकारीहरू पक्राउ परेका हुन् ।
रामकुमार प्रजा बमबहादुर प्रजा चितवनमा गैंडाको चोरी सिकारीमा स्थानीय आदिवासीलाई तस्कर समूहले प्रयोग गर्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका उनीहरूलाई आर्थिक प्रभावमा पारी गैंडा मारेर खाग निकाल्न लगाउने गरिएको छ। जसमा दर्जनौं स्थानीय पक्राउ परी हाल जेलमा छन् । तर, १५ वर्ष जेल बसेर छुट्दा पनि त्यही काममा लागेपछि गैंडाको चोरी सिकारी गिरोहको सञ्जाल अझै सक्रिय रहेको देखिएको छ । यसले दुर्लभ वन्यजन्तु गैंडाको संरक्षण अझै चुनौतीपूर्ण देखिएको छ।