कोलम्बो, असार २०। आर्थिक संकटले ग्रस्त श्रीलंकामा पेट्रोल र डिजेलको चरम अभाव भएको छ । इन्धन अभावले त्यहाका विद्यालय बन्द भएका छन् भने मानिसहरूलाई घरबाट काम गर्ने सल्लाह दिइएको छ । गत महिना इन्धन अभावका कारण देशभरका विद्यालय एक दिनका लागि बन्द भएका थिए भने सहरी क्षेत्रका विद्यालय दुई सातादेखि बन्द रहेका छन् ।
श्रीलंकामा राजनीतिक उथलपुथलपछि सरकार परिवर्तन भए पनि जनताको समस्या भने समाधान भएको छैन । नगदको अभाव भएको यो देशमा शिक्षक र अभिभावकसँग आफ्ना बालबालिकालाई विद्यालय लैजान पर्याप्त इन्धन नभएकाले थप एक साता विद्यालय बन्द गर्ने निर्णय गरिएको छ ।
ऊर्जामन्त्रीले विदेशमा रहेका नागरिकलाई विदेशी मुद्रा आर्जन गरेको आम्दानी अनौपचारिक माध्यमबाट नभई बैंकमार्फत स्वदेश पठाउन आग्रह गरेका छन् । अधिकारीहरू भन्छन्, कुनै पनि आपूर्तिकर्ता ईन्धन उधारो दिन तयार छैन। अत्यावश्यक सेवाका लागि उपलब्ध इन्धन केही दिन मात्रै रहनेछ ।
विद्युत उत्पादन केन्द्रमा पर्याप्त इन्धन आपूर्ति हुन नसकेपछि अधिकारीहरुले सोमबारदेखि देशभर तीन घण्टा विद्युत् कटौती गर्ने घोषणा गरेका छन् । श्रीलंकामा आर्थिक सङ्कटले विगत केही महिनादेखि व्यापक विद्युत् कटौती गरेको छ, साथै खाना पकाउने ग्यास, औषधि र खाद्यवस्तुलगायतका अत्यावश्यक वस्तुहरूको चरम अभाव भएको छ।